साउदीमा एकै दिन ८१ जनालाई मृत्युदण्ड, ब्लगर र बदावीलाई १० वर्षको यात्रा प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०७८, २९ फाल्गुन

काठमाडौं, २९ फागुन (एजेन्सी) । साउदी अरबले एकै दिन ८१ जनालाई मृत्युदण्ड दिएको छ । शनिबार मृत्युदण्ड दिइएको यो संख्या सन् २०२१ दिइएको कुल संख्याभन्दा बढी हो ।

साउदी प्रेस एजेन्सीका अनुसार मृत्युदण्ड पाउने सबै जना अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट, अल-कायदा, हुथी र अन्य अतिवादी संगठनमा आबद्ध रहेका थिए । उनीहरुले महत्वपूर्ण स्थानमा आक्रमणको षडयन्त्र गरेको र देशमा हतियार ओसारपसार गरेको सरकारले दाबी गरेको छ ।

एसपीएका अनुसार मृत्युदण्ड पाएका सबैलाई साउदी अदालतमा मुद्दा लगाइएको थियो र प्रत्येक व्यक्तिको लागि तीन अलग-अलग चरणमा १३ जना न्यायाधीशले मुद्दामाथि सुनुवाई गरेका थिए । तेलका लागि विश्वकै धनी खाडी मुलुकमा विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दर छ ।

यसैबीच, मुक्त ब्लगर र मानवअधिकार कार्यकर्ता राइफ बदावीलाई १० वर्षको यात्रा प्रतिबन्ध लगाइएको छ । ब्लगर वदाबी विश्वभर स्वतन्त्रता र अभिव्यक्तिको प्रतीक बनेका छन् ।

इस्लाम धर्म अपमान गरेको अभियोगमा ३८ वर्षीय बदाबीलाई सन् २०१२ मा पक्राउपछि जेल चलान गरिएको थियो । गृहमन्त्रालयका एक अधिकारीको भनाई उदृत गर्दै एएफपीले लेखेको छ, ‘राइफलाई १० वर्षको जेल सजाय सुनाइएको थियो र त्यसपछि सोही अवधिको लागि यात्रा प्रतिबन्ध लगाइएको थियो । अदालतको फैसला अन्तिम हुन्छ ।’

प्रतिक्रिया