रूसी तेलमाथिको निर्भरताबाट स्वतन्त्र हुने जर्मनीको लक्ष्य
अखबार टुडे
प्रकाशित:
२०७८, २८ फाल्गुन

काठमाडौं, २८ फागुन । जर्मनीले यस वर्षको अन्त्यसम्ममा रुसी तेल आयातबाट झण्डै मुक्त हुने लक्ष्य लिएको शनिबार जनाएको छ ।

युक्रेनमाथिको आक्रमणपछि संयुक्त राज्य अमेरिकालगायत यूरोपेली मुलुकहरूले मस्कोलाई प्रतिबन्ध लगाउने र आर्थिक दबाव सिर्जना गर्ने योजना अघि सारेपनि जर्मनीले तत्काल रूसी तेलमाथिको निर्भरतालाई सम्बोधन गर्न सम्भव नभएको जनाएको हो ।

फ्र्¥याङफर्टर आल्जेमाइन जाइटुङले रोबर्ट हाबेकलाई उद्धृत गरी उल्लेख गरेको छ, ‘हरेक दिन साँच्चै भन्ने हो भने हामी हरेक घण्टा रूसी आयातलाई बिदाइ गर्दैछौं । हामी शरद ऋतुसम्ममा रूसी कोइलाबाट स्वतन्त्र हुनेछौं र वर्षको अन्तसम्ममा रूसी तेलमाथिको निर्भरताबाट स्वतन्त्र हुनेछौं ।’

जर्मनीले हाल आफ्नो तेलको एक तिहाइ र रूसबाट ४५ प्रतिशत कोइला आयात गरेको सरकारी तथ्याङ्कले देखाएको छ । जर्मनीको लागि रूसी ग्याँस काट्नु एउटा कठिन परिस्थिति हो, जसले रूसबाट आधाभन्दा बढी ग्यास आयात गर्छ । हाबेकले रूसी ऊर्जा आयातमा रोक लगाउन प्रतिरोध गर्दै उनले रूसी इन्धन बहिस्कारले हिउँदमा इन्धन अभाव हुने र मुद्रास्फीति बढ्ने चेतावनी दिएको छ ।

फेब्रुअरी २४ मा सुरु भएको युक्रेनमाथिको घातक आक्रमणका लागि खासगरी अमेरिकालगायतका यूरोपेली मुलुकले रूसविरुद्ध व्यापक प्रतिबन्ध लगाएका छन् । प्रतिबन्धलाई थप कडा पार्दै अमेरिका र बेलायतले मार्च ८ देखि रूसी तेल आयातलाई बन्द गरिसकेका छन् ।

प्रतिक्रिया