एमसीसीको अन्तर्राष्ट्रिय टेन्डरमा भाग लिन निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, २७ फाल्गुन

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका निर्माण व्यवसायीलाई एमसीसीको अन्तर्राष्ट्रिय टेन्डरमा भाग लिन हिम्मत गर्न आग्रह गरेका छन् ।

शुक्रवार काठमाण्डौमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अब छिट्टै एमसीसी परियोजनाको अन्तर्राष्ट्रियस्तरमा सार्वजनिक टेन्डर हुने भएकाले नेपालले पनि भाग लिनसक्ने बताएका हुन् ।

अमेरिकी कानुन अनुसार एमसीसीलाई अन्तर्राष्ट्रियस्तरमा टेन्डर गर्नुपर्ने अवस्था रहेकाले यसमा जुनसुकै देशले प्रतिस्पर्धा गर्न सक्ने भन्दै उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धा ग्लोबल टेन्डर हुन्छ । नेपालकाले पनि हिम्मत गरे हुन्छ । यो एमसीसीको बिडिङमा सफल हुनुस् । सबैभन्दा पहिले हामी खुसी हुनेछौँ ’।

देउवाले नेपालको निर्माण उद्योगलाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्नेमा जोड दिए । निर्माण व्यवसायको व्यवस्थित विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखिएका समस्याको नीतिगत, कानुनी र प्रक्रियागत रूपमा सहजीकरण गर्न सरकार सकारात्मक रहेको बताए । उनले निर्माण व्यवसायलाई सहज बनाउनका लागि खरिद नियमावलीको ११ औँ संशोधन गरिएको स्पष्ट पारे ।

प्रतिक्रिया