रुसद्वारा युरोपमा २ सयभन्दा बढी वस्तुको निर्यातमा रोक, अमेरिका र ईयूसहित ४८ देश प्रभावित
अखबार टुडे
प्रकाशित:
२०७८, २७ फाल्गुन

काठमाडौं, २७ फागुन । युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले जबाफमा दुई सयभन्दा बढी वस्तुहरुको निर्यातमा रोक लगाएको छ ।

बीबीसीका अनुसार रुसले सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट २०० भन्दा बढी उत्पादन निर्यातमा रोक लगाएको हो । रुसी निर्यात प्रतिबन्धले अमेरिका र ईयूसहित करिब ४८ देश प्रभावित हुने जनाइएको छ ।

रुसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको निर्यातमा रोक लाग्नेछ । त्यहाँको अर्थ मन्त्रालयले थप प्रतिबन्धहरूमा रुसी बन्दरगाहमा विदेशी पानी जहाजहरूलाई प्रतिबन्ध लगाउने चेतावनी दिँदै यो उपाय रुसमाथि थोपिएका प्रतिबन्धहरूको तर्कपूर्ण प्रतिक्रिया हो भनेका छन् ।

रुसले मैत्रीपूर्ण व्यवहार नगर्ने देशमाथि लगाइएको प्रतिबन्ध अर्थतन्त्रका प्रमुख क्षेत्रको निर्बाध कार्य सुनिश्चित गर्ने उद्देश्यका साथ लगाइएको बताएको छ । तर रुसी आदेशमा जर्जियाका छुट्टिएका क्षेत्रहरू दक्षिणी ओशीसा र अब्काजिया तथा रुसको नेतृत्वमा रहेको युरेसियन इकोनोमिक युनियनका सदस्यलाई निर्यात छुट दिन सकिने उल्लेख छ ।

प्रधानमन्त्री मिखाइल मिशुस्तिनले प्रतिबन्धमा रुसमा सञ्चालित विदेशी कम्पनीले बनाएका सामानको निर्यात पनि समावेश हुने बताएका छन् । जुन कार र रेलका कन्टेनरहरू पनि समावेश छन् । बुधवार मस्कोले अनुमोदन गरेको एउटा कानुनले देश छोड्ने विदेशी कम्पनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने दिशामा पहिलो कदम चालेको बताइएको छ ।

पश्चिमाहरूले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन् । त्यस्तै उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिननजिक मानिने रुसी अर्बपतिविरुद्ध पनि त्यस्ता आर्थिक प्रतिबन्धलाई केन्द्रित गरेका छन् ।

प्रतिक्रिया