युक्रेनद्वारा रुसमाथि ‘पारमाणविक आतंकवाद’को आरोप
अखबार टुडे
प्रकाशित:
२०७८, २७ फाल्गुन

काठमाडौ., २७ फागुन । रुसी सेनाले आफ्नो पारमाणविक अनुसन्धान केन्द्रमा बम हमला गरेको भन्दै युक्रेनले मस्कोमाथि ‘पारमाणविक आतंकवाद’को आरोप लगाएको छ ।

बिबिसीले उल्लेख गरेअनुसार युक्रेनको राज्य स्तरीय पारमाणविक नियामक निकायका अनुसार पूर्वोत्तर सहर खार्किभमा रहेको उक्त अनुसन्धान केन्द्रमा बिहीवार अबेर भएको गोलाबारीका क्रममा विद्युतीय आपूर्ति रोकिएको छ । घटनामा कुनै मानवीय क्षति भएकोबारे विवरण आएको छैन ।

रुसले भने हालसम्म यस विषयमा प्रतिक्रिया जनाएको छैन । मार्च ३ मा दक्षिण–पूर्वी युक्रेनमा रहेको जापोरिज्या परमाणु ऊर्जा केन्द्रको एउटा भवनमा रुसले अस्त्रको प्रयोग गरी आगो लगायो र लगत्तै कब्जा गरेको थियो ।

बिहीवार पनि संयुक्त राष्ट्रको परमाणुसम्बन्धी नियामक संस्था आइएईएले युक्रेनी अधिकारीहरूले उनीहरूलाई रुसी सेनाले कब्जा गरेको युक्रेनको अर्को परमाणु केन्द्र चर्नोबलसँग पूर्ण रूपमा सञ्चार विच्छेद भएको बताएको जनाएको बिबिसीको समाचारमा उल्लेख छ । सन् १९८६ मा उत्तरी युक्रेनको चर्नोबलमा संसारको सबैभन्दा भयानक पारमाणविक दुर्घटना भएको थियो ।

रुसी फौज किएभनजिक पुनः तैनाथ हुँदै

यसैबीच रुसी फौजको एउटा लस्कर किएभनजिक पुनः तैनाथ भइरहेको भूउपग्रह तस्वीरबाट देखिएको छ । त्यसलाई युक्रेनी राजधानीतर्फ बढ्ने रुसी फौजको ताजा प्रयासको रूपमा हेरिएको छ ।

म्याक्सआर टेक्नोलोजिजका अनुसार आसपास नगरका तैनाथी क्षेत्रतर्फ रुसी लस्कर बढेको छ । त्यो लस्कर यसअघि एन्टोनोभ विमानस्थलनजिक पश्चिमोत्तर क्षेत्रमा देखिएको समाचारहरु आएका थिए ।

प्रतिक्रिया