भिजिट भिषामा कतै जाँदै हुनुहुन्छ ? यस्ता छन् १८ नियमहरु
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन

काठमाडौं, २६ फागुन । सरकारले भिजिट भिषामा कडाइ गरेको छ । जसका लागि गृह मन्त्रालयले कार्यविधि तयार नहुञ्जेलसम्म भिजिट भिसासम्बन्धी अस्थायी प्रावधान लागू गरेको छ ।

बिहीबार सचिवस्तरीय निर्णयबाट कार्यविधि तयार भई कार्यान्वयनमा नआउञ्जेलसम्मका लागि अस्थायी प्रावधान लागु गरेको गृह मन्त्रालयले जनाएको छ । अस्थायी प्रावधानले पुरानो व्यवस्थालाई भने संशोधन गरेको छ ।

अस्थायी प्रावधानअन्तर्गत खाडी मुलुकभन्दा बाहिर कम्तिमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरु भिजिट भिसामा जान पाउनेछन् । विदेशी मुलुकमा न्यूतम दुई वर्षभन्दा बढी व्यतित गरेका र न्यूनतम कक्षा १२ को औपचारिक शिक्षा हासिल गरेका व्यक्तिहरु भिजिट भिसामा यात्रा गर्न पाउनेछन् ।

अंग्रेजी र गन्तव्य मुलुकमा बोलिने अन्तर्राष्ट्रिय भाषामा दख्खल भएको व्यक्ति पनि जान पाउनेछन् । वार्षिक न्यूतम पाँच लाख रुपैयाँ करयोग्य आय भई त्यसको आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आबद्ध भएका व्यक्तिहरु भिजिट भिसामा जान पाउनेछन् ।

आफ्नो एकाघर (आफ्नै परिवार)को नातेदारका साथमा भ्रमणमा जाने तथा आमन्त्रण र प्रयोजनमा जाने व्यक्ति (आमाबाबु, सासुससुरा, छोराछोरी, श्रीमानश्रीमती) जान पाउनेछन् । नेपाली दूतावासको सिफारिसमा विरामी कुरुवा र रेखदेखका लागि जाने तीन पुस्ते नाताभित्रका व्यक्तिले पनि भिजिट भिसामा जान पाउनेछन् ।

खेलाडी र कलाकारले भिजिट भिसामा जान प्रायोजकको आधिकारिक पत्र वा सम्बन्धित नेपाली दूतावासको सिफारिस वा नेपालीस्थित अध्यागमनको पूर्व स्वीकृत भएमा जान पाउनेछन् । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले कार्यविधि नआउँदासम्म यो अस्थायी प्रावधान लागु हुने बताए ।

प्रतिक्रिया