
काठमाडौं, २६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन् ।
बिहिबार नेपाली कांग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाल गठबन्धनसँग मिली निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र सङ्घ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएको बताएका हुन् ।
विसं २०७४ को चुनावमा कांग्रेस कमजोर भएर नभइ सबै कम्युनिष्टहरू एक भएकाले कांग्रेसको हार भएको स्पष्ट गर्दै गठबन्धनसहित निर्वाचनमा जाने विषयमा छलफल भइरहेको समेत बताए ।
उनले हालै संसद्बाट पारित भएको एमसिसीबाट प्राप्त हुने रकम ऋण सहयोग नभई अनुदान भएकाले उक्त रकमलाई सदुपयोग गर्न सकिए राष्ट्र विकास चाँडै गर्न सकिने विचार व्यक्त गरे ।
एमसिसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गरे ।
प्रमानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताए ।
विभिन्न दल परित्याग गरी कांग्रेस पार्टीमा प्रवेश गरेका पर्साका पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियार (मन्टु)लगायतका नेता–कार्यकर्तालाई सभापति देउवाले कांग्रेस पार्टीमा स्वागत गरेका थिए ।