ह्वाइट हाउसको दावी- ‘युक्रेन युद्धमा रुसले जैविक अस्त्र प्रयोग गर्न सक्छ’
अखबार टुडे
प्रकाशित:
२०७८, २६ फाल्गुन

काठमाडौं, २६ फागुन । युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने ह्वाइट हाउसले दाबी गरेको छ । ह्वाइट हाउसले त्यस्तो हुनसक्ने भन्दै ‘हामी सबै सतर्क हुनुपर्छ’समेत भनेको छ ।

बिबिसीले जनाएअनुसार ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले युक्रेनमा अमेरिकी जैविक अस्त्र प्रयोगशाला रहेको र युक्रेनमा रासायनिक अस्त्र विकास भएको भन्ने रुसी दाबी ‘अनर्गल’ भएको बताएकी छन् ।

उनले ती झूटा दाबीहरू थप पूर्वनियोजित र अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने प्रयास गर्न रुसले चालेको ‘स्पष्ट चाल’ भएको बताएकी छन् ।

उनको जस्तै अन्य पश्चिमा अधिकारीहरूले पनि रुस र युक्रेनबीचको युद्ध तीव्र रूपमा बढ्ने जोखिमबारे आफूहरू ‘निकै चिन्तित’ रहेको बताएका छन् । विशेषगरी रुसले गैरपरम्परागत अस्त्रहरू प्रयोग गर्ने सम्भावनालाई लिएर आफूहरू चिन्तित बनेको उनीहरूको भनाइ छ ।
‘हामीलाई चिन्तित बनाउने उपयुक्त कारण छ’ बिबिसीसँग एक पश्चिमी अधिकारीले भनेका छन् । यो आंशिक रूपमा रूस संलग्न भएका अन्य द्वन्द्वग्रस्त स्थानहरूमा देखिएका गतिविधिका कारण पनि आफूहरूलाई त्यस्तो लागेको उनीहरूको भनाइ छ ।

बुधबार ब्रिटिश रक्षा मन्त्रालयले एउटा ट्वीटमा रुसले युक्रेनमा थर्मोबरिक रकेटहरू प्रयोग गरेको जनाएको थियो । त्यस्ता रकेटहरूलाई भ्याकुम बम पनि भनिन्छ किनभने त्यस्ता रकेटले वरपरको हावाबाट अक्सिजन सोस्छन् र उच्च तापसहितको विस्फोटन गराउँछन् ।

रुसबाट आएका केही गलत सूचनासहितका दाबीहरूले पनि पश्चिमाहरूमा त्यस्तो चिन्ता बढाएको हो । रुसले युक्रेनी भूमीमा रासायनिक अस्त्र बनिरहेको झूटो दाबी गरेको थियो । ब्रिटेनस्थित रुसी दूतावासले रुसी विदेश मन्त्रालयकी प्रवक्ताले गरेको त्यस्तो दाबीलाई सार्वजनिक गरेको थियो ।

रुसी अधिकारीहरू र सञ्चारमाध्यमले पनि हालै युक्रेनले डर्टी बम भनिने विकिरणयुक्त पदार्थ फ्याक्ने अस्त्र निर्माणको योजना बनाइरहेको दाबी समेत दावी गरेका छन् । त्यस्तै रुसी विदेश मन्त्रीले युक्रेनले पारमाणविक अस्त्र खोज्दै आएको दाबी गरेका थिए ।

कतिपय मस्कोले आफ्ना जनतालाई किन आफूले युक्रेनमा हमला गर्नुप¥यो भन्ने औचित्य देखाउन त्यस्तो दाबी गरिरहेको ठान्छन् । तर, पश्चिमा अधिकारीहरू त्यसलाई ‘फल्स फ्ल्याग’ घटनाहरूमा प्रयोग गर्ने आधार बनाइएको हुन सक्ने कुरामा चिन्तित छन् ।

बिबिसीका अनुसार सिरियामा त्यस्ता अस्त्र प्रयोग हुँदा पनि रुसबाट अहिलेकै जस्ता दाबीहरू आएको पश्चिमा अधिकारीहरू बताउँछन् । रुसी साझेदार बसर अल–असदको सिरियाली सरकारले विभिन्न समयमा रासायनिक हतियार प्रयोग गरेको पाइएको थियो । (बिबिसी)

प्रतिक्रिया