संखुवासभा, २६ फागुन । संखुवासभाको मादीबाट झापा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्डस्थित सात घुम्तीमा बस दुर्घटनाग्रस्त भएको हो ।
ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको उनले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ ।
स्थानीयका अनुसार बसमा करिब १९ देखि २१ जना यात्रु थिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण संकलन भइरहेको उनले जानकारी दिए ।
घाइतेहरुको चैनपुर अस्पतालमा उपचार भइरहेको छ । क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।