पाकिस्तानका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस
अखबार टुडे
प्रकाशित:
२०७८, २५ फाल्गुन

काठमाडौं, २५ फागुन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी दलहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम)ले अविश्वास प्रस्ताव पेस गरेका छन् ।

बीबीसी हिन्दीका अनुसार विपक्षी दलहरुले उच्च महँगीलाई प्रमुख मुद्दा बनाएर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएका हुन् ।

सदन नचलेका अवस्थामा संविधानको धारा ५४ अनुसार अविश्वास प्रस्ताव पेस भएको हो । धारा ५४ अनुसार राष्ट्रिय सभाका २५ प्रतिशत सदस्यले हस्ताक्षर गरी बैठक आह्वानको माग गर्न सक्नेछन् । उनीहरूले माग गरेको १४ दिनभित्रमा सभामुखले बैठक आह्वान गर्नुपर्नेछ ।

विपक्षी गठबन्धनको अर्को घटक पाकिस्तान पिपुल्स पार्टीका प्रवक्ता नवीद कमारले १४० जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव पेस गरिएको बताएका छन् । पाकिस्तानको संविधान अनुसार अविश्वास प्रस्ताव पारित गर्न संसदमा साधारण बहुमत भए पुग्छ । पाकिस्तानको संसदमा ३ सय ४२ सदस्य छन् । यसअनुसार अविश्वास प्रस्ताव पारित गर्न पक्षमा एक सय ७२ भोट भए पुग्छ ।

प्रधानमन्त्री खानको पार्टी पीटीआईसँग संसदमा एक सय ५५ सीट छ । उनले केही साना दलसँग मिलेर सरकार बनाएका छन् । तर यी पार्टीका शीर्ष नेताले सरकारको सार्वजनिक रुपमा आलोचना गर्दै आएका छन् भने प्रधानमन्त्री खानको विपक्षमा उभिने स्पष्ट संकेत गरेका छैनन् । विपक्षीको विरोधपछि प्रधानमन्त्री खानले पेट्रोल र बिजुलीको मूल्यमा केही कटौतीको निर्णय गरेका छन् ।

प्रतिक्रिया