नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने
अखबार टुडे
प्रकाशित:
२०७८, २४ फाल्गुन

काठमाडौं, २४ फागुन । नेपाली राष्ट्रिय फुटबल टिमले यही मार्चमा थाइल्यान्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

खेल मार्च २४ (चैत १०) मा थाइल्यान्डको चोन बुरीमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । यस्तै, नेपालले मार्च २७ मा स्थानीय टिम चोन बुरी एफसीसँग प्रतिस्पर्धा गर्ने एनफाले जनाएको छ ।

फिफा वरीयतामा थाइल्याण्ड नेपालभन्दा ५५ स्थान माथि छ । थाइल्याण्ड वरीयता ११२औं स्थानमा छ भने नेपाल १६७औं स्थानमा छ ।

नेपालले चीनमा हुने एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटको तयारीका लागि थाइल्यान्ड भ्रमण गर्न लागेको हो । एसियन कप छनोटमा समूह ‘ए’ मा परेको नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आफ्नो पहिलो खेलमा जोर्डनसँग ८ जुनमा, कुवेतसँग ११ जुनमा र इन्डोनेसियासँग १४ जुनमा प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष हुने टिम एसियन कपका लागि छनोट हुनेछ भने दोस्रो हुने टिमको पनि छनोट हुने सम्भावना हुनेछ ।

प्रतिक्रिया