‘एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल’
अखबार टुडे
प्रकाशित:
२०७८, २४ फाल्गुन

काठमाडौं, २४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुमा नेपाल रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै अध्यक्ष ओलीले एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको बताएका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘संसदमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व संविधानद्वारा नै सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा नेपाल पर्न सफल भएको छ । आज स्थानीय तहमा हजारौं महिलाहरुको प्रतिनिधित्वले राजनीति र विकासमा महिलाको योगदान बढेको छ ।’

एमालेको सरकारले महिला अधिकारको क्षेत्रमा लिएका नीति र गरेका कामको प्रतिफलस्वरुप नेपालको लैङ्गिक विकास सूचकाङ्कमा उल्लेख्य सुधार भएको उल्लेख गरेका छन् ।

नेपालको राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणमा महिलाहरुको सहभागिता र नेतृत्व विश्वकै लागि अनुकरणीय रहँदै आएको र ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ,’ जारी सन्देशमा भनिएको छ ।

एमाले मुलुकमा सुशासन, विकास र सामाजिक न्यायको अगुवा पार्टी भएको दाबी गर्दै गत वर्ष सरकारले महिला र किशोरीमाथि हुने बलात्कार र हिंसाको नियन्त्रण र कारवाहीसम्बन्धी कानूनी व्यवस्थालाई थप कडा बनाउँदै तेजावजन्य पदार्थको आक्रमण गर्नेलाई सजाय वृद्धि तथा पीडितलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था हुनेगरी कानूनलाई सुदृढ बनाएको शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया