रुस-युक्रेन युद्ध : पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए व्यापक मूल्यवृद्धि हुने मस्कोको चेतावनी
अखबार टुडे
प्रकाशित:
२०७८, २४ फाल्गुन

काठमाडौं, २४ फागुन । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने मस्कोले चेतावनी छ ।

प्रतिबन्ध लगाउने कदमले विश्वका लागि विध्वंसात्मक परिणाम निम्त्याउने रुसी उपप्रधानमन्त्री एलेक्सान्डर नोभाकले बताएको बिबिसीले जनाएको छ । रुसी ऊर्जामाथि रहेको निर्भरता घटाउन संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूले दिएको दबाव रुसी कम्पनीहरूले महसुस गर्न थालिसकेको उनले उल्लेख गरेका छन् ।

यसैबीच रुस–युक्रेन द्वन्द्वका कारण ऊर्जाको बढ्दो मूल्यले विश्वभरि आर्थिक वृद्धि घटाउन सक्ने र महँगी बढाउन सक्ने चिन्ताबीच अन्तर्राष्ट्रिय शेअर बजारहरूमा गिरावट आएको छ । साउदी अरबपछि रुस विश्वको सबैभन्दा दोस्रो ठूलो कच्चा तेल उत्पादक हो । रुस एक्लैले युरोपेली मागको एक तिहाइ तेल आपूर्ति गर्छ ।

यसअघि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेर सन् २००८ यताकै सबैभन्दा उच्च भएको थियो । एशियाली बजारमा कच्चा तेलको बेन्चमार्क ’ब्रेन्ट क्रूड’ बढेर १३९ डलर प्रतिब्यारल नाघेको थियो । तर पछि १३० डलरभन्दा कममा आइपुग्यो। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि आपूर्तिमा अवरोध सिर्जना हुने भयले इन्धन बजार प्रभावित भएको छ । पेट्रोलियम पदार्थको खुद्रा मूल्य बढेकाले उपभोक्ताहरू पनि प्रत्यक्ष प्रभावित भएका छन् ।

यसैबीच बिबिसीका अनुसार साउदी अरबलाई तेल उत्पादन बढाउन आग्रह गर्न अमेरिकी राष्ट्रपति चाँडै रियाद भ्रमणमा जाने विषयमा अमेरिकी सरकारले विचार गरिरहेको विवरण आएको छ ।

अमेरिकी समाचारसंस्था एक्जिअसका अनुसार तेलबारे कुरा गर्न जो बाइडनले वसन्तयाममा साउदी अरबको भ्रमण गर्न सक्छन् ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वभरि उत्पन्न ऊर्जा सङ्कट समाधान गर्न अमेरिकाले सङ्घर्ष गरिरहेको छ ।

अमेरिकी र भेनेजुएलाका अधिकारीहरूबीच पनि तेलमा लागेको प्रतिबन्ध खुकुलो बनाउने विषयमा कुरा भएको बताइएको छ । अमेरिकाले हाल आयात गर्ने कच्चा तेल र पेट्रोलियम पदार्थमध्ये झन्डै १० प्रतिशत रुसबाट आयात हुन्छ । (बिबिसी)

प्रतिक्रिया