रुस-युक्रेन युद्वबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा
अखबार टुडे
प्रकाशित:
२०७८, २४ फाल्गुन

लण्डन, २४ फागुन । रुस–युक्रेन युद्वबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा पुगेका छन् ।

गैरआवासीय नेपाली संघ, रुस–युक्रेन युद्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका छन् ।

उनका अनुसार हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका हुन् ।
युक्रेन युद्धबाट बिस्थापितभै बिभिन्न देशका सिमाबाट निस्किएका नेपालीहरु सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुक तिर जागेका छन् ।
तीमध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ प्रोर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राजकुमार थापाले जनाकारी दिए ।

थापाका अनुसार ती नेपालीहरुलाई एनआरएन प्रोर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।
यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रुपमा पोल्याण्डको सिमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरन्जीबी खड्काले जानकारी दिए ।

यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदुत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सकृय रहेको छ । युद्धबाट विस्थापित नेपालीहरुको उद्धारको लागि राजदुत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सिमा क्षेत्रमा आफै खटिएका थिए ।

युक्रेनबाट विस्थापितहरुलाई नेपाली समुदायकै सहयोगमा बिभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्तसमेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट संचालित उडान मार्फत नेपाल पठाउन आवश्यक पहल समेत भैरहेको जनाएको छ । उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरुको नियमित रुपमा तथ्यांक संकलन गर्दै आएको छ ।

प्रतिक्रिया