रामकोट घटनाको नोट फेला : लेखिएको छ, ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ’
अखबार टुडे
प्रकाशित:
२०७८, २४ फाल्गुन

काठमाडौ., २४ फागुन । काठमाडौंको नागार्जुन नगरपालिका–६ रामकोटस्थित डाँडापौवामा सोमबार राति विष पिएका परिवारका ५ जनामध्ये ४ जनाको गम्भीर अवस्थामा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।

विष पिएकामध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको गएराति नै मृत्यु भएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीका अनुसार भेन्टिलेटरमा उपचार गराइरहेको चार जनाको अहिले अवस्था गम्भीर छ । उनीहरु बोल्न सक्ने अवस्थामा छैनन् ।

इन्दिरामाया प्रधानसहित ३८ वर्षका भिम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल र ११ वर्षीया सुप्रेणा प्रधानको अवस्था गम्भीर छ । डाडाँपौवास्थित डा. उद्धव पुरीको घरमा उनीहरु डेरामा बस्थे । डेरामा विषका बट्टाहरू र पानीको बोतलमा घोलेर बाँकी रहेको विष फेला परेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनीहरुले विष पिउनुअघि लेखेको नोट भेटिएको छ । नोटमा उनीहरुले लेखेका छन्, ‘हामी संयुक्त रुपमा बिदा हुँदैछौँ ।’ सो परिवारले विषमा सिटामोल धुलो बनाएर जुसजस्तो घोल बनाएको भेटिएको छ । ४ वटा बोटलमा घोलेर पिएको बाँकी रहेको विष प्रहरीले अनुसन्धानका लागि संकलन गरेको छ ।

उनीहरुमध्ये केही मानसिक रोगको समस्या रहेको बताइएको छ । प्रहरीले घटनाको कारण आर्थिक समस्या हुनसक्ने आँकलन गरेको छ । तर, यकिन कारण खुल्न बाँकी रहेको एसपी मैनालीले बताएका छन् ।

प्रतिक्रिया