एक सफल गीतकारको संस्मरण : दर्पणको ‘डार्क रोज’ कस्तो होला ?
अखबार टुडे
प्रकाशित:
२०७८, २३ फाल्गुन
  • एमपी सुब्बा

काठमाडौं, २३ फागुन । आगामी नयाँ वर्षको सुरुवातसँगै पाठकले नयाँ स्वादमा एउटा पुस्तक प्राप्त गर्ने भएका छन् । जुन पुस्तक पढेपछि धेरै पाठकलाई लाग्नेछ कि, ‘म आफ्नै कथा पढ्दैछु ।’

पुस्तकको नाम छ, ‘डार्क रोज’ अर्थात अँध्यारो गुलाब । नाम सुन्दै पक्कै महशुस गर्नुभयो होला ‘डार्क रोज’ एउटा वियोगात्मक प्रेमकथा हो । तर, वियोगात्मक मात्र होइन, संयोगात्मक प्रेमकथा पनि पाउनुहुनेछ पुस्तकमा ।

यसै पुस्तकमार्फत गीतकार दर्पण राई साहित्यकार तथा लेखकका रुपमा डेब्यू गर्दैछन् । प्रेम र विछोडका शब्दभावलाई गीतमा उतार्न सिपालु दर्पणका अनुसार ‘डार्क रोज’ले प्रेम, रोमान्स र विछोडका कथालाई संयोजन गर्नेछ ।

पुस्तकको अन्तिम तयारीमा रहेका दर्पण भन्छन्, ‘डार्क रोज एउटा संस्मरण शैलीको कथाकृति हो, जसमा मेरो आफ्नै कथा त हुनेछ नै, साथै आमपाठकले पुस्तक पढिरहँदा पनि आफ्नै महुशस गर्नेछन् ।’

पुस्तकबारे उनी भन्छन्, ‘प्रेम गर्ने अधिकांश जोडीका प्रेम सफल भएको हुँदैन । संसारमा यस्ता थोरै पात्र छन्, जो पहिलो प्रेममै प्रणयमा बाँधिएका छन् । तर, अधिकांशको पहिलो प्रेम डार्क हुन्छ ।’

विशेषगरी कलाका क्षेत्रका सेलिब्रेटीका प्रेम ‘फेसन’जस्तै पाइन्छ । जो आज प्रेममा हुन्छन्, भोलि पीडामा । प्रेम, रोमान्स र विछोड उनीहरुका लागि फिल्मको कथा जस्तै हो । अधिकांश फिल्मका कथा पनि डार्क नै हुन्छ ।

नाम कसरी ‘डार्क रोज’ जुर्यो ? लेखक दर्पण भन्छन्, ‘पुस्तकको कथावस्तु अनुसार नाम जुराएको हुँ । कथाको सुरुवात प्रेमबाट सुरु हुन्छ, जसलाई रोजले प्रतिनिधित्व गर्छ किनकि रोज अर्थात गुलाव प्रेमको प्रतिक मानिन्छ । र, त्यही प्रेम विछोडपछि डार्क बन्छ ।’

गीत लेखनमा सफल मानिएका गीतकार दर्पणको यो पहिलो सस्मरण कृति हुनेछ । र, उनका लागि उत्तिकै महत्वकांक्षी पनि । किनकि, पहिलो कृति नै असफल वा पाठकले रुचाएनन् भने अहिलेसम्म गीतिकारिताबाट हासिल गरेको उपलब्धीसमेत गुम्ने छ । त्यो डर दर्पणलाई पनि छ ।

त्यसैले पुस्तक तयारीका क्रममा निकै मिहिनेत गरिरहेका छन् । उनी भन्छन्, ‘डार्क रोज मेरो लागि विशेष कृति हो, जसमा मेरो आफ्नो भोगाइ र अनुभवहरुलाई लयबद्ध समेट्ने प्रयास गरेको छु । मलाई लाग्छ, पुस्तक पाठकले रुचाउँनेछन् । त्यसमा विस्वस्त पनि छु ।’ उनले पुस्तक यही आउने नेपाली नयाँ वर्षको सुरुवातमै पाठक समक्ष आउने बताए ।

प्रतिक्रिया