अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध वारेन्ट जारी
अखबार टुडे
प्रकाशित:
२०७८, २३ फाल्गुन

काठमाडौं, २३ फागुन । भारतीय अभिनेत्री सोनाक्षी सिन्हा विरुद्ध त्यहाँको एक अदालतले वारेन्ट जारी गरेको छ ।
पैसा लिएर कार्यक्रममा नआएको भन्दै दर्ता भएको मुद्दाको सुनुवाई गर्दे उत्तर प्रदेशको मुरादाबादको एसीजेएम अदालतले २५ अप्रिलमा उपस्थित हुन आदेश दिएको हो ।

भारतीय संचारमाध्यमले जनाए अनुसार एक इभेन्ट कम्पनीबाट सोनाक्षी र अर्का एक व्यक्तिले ३७ लाख लिएको तर कार्यक्रममा भने नगएका हुन्। सोनाक्षी कार्यक्रममा नगएपछि २०१९ फेब्रुअरीमा प्रहरीमा उजुरी परेको थियो । प्रहरीले अनुसन्धानपछि सोनाक्षी र ती व्यक्तिका विरुद्ध ठगी तथा बेइमानीको मुद्दा दर्ता गरेको थियो ।

सोनाक्षीले सो कार्यक्रमको प्रमोशनल भिडियो पनि सार्वजनिक गरेकी थिइन् तर, कार्यक्रममा भने सहभागी भइनन् । उनी बिरुद्ध मुरादावादमा उक्त मुद्दा दर्तापछि सोनाक्षीले उच्च अदालतबाट रोक लगाएकी थिइन् । उक्त रोक ६ महिना भन्दा माथि लागेको थियो ।

भारतको सर्वोच्च अदालतको फैसला अनुसार रोक ६ महिनासम्म मात्रै मान्य हुने र त्यसपछि निष्क्रिय मानिनेछ । यसै फैसलालाई ध्यानमा राखेर मुरादाबादको एसीजेएम अदालतले सोनाक्षी विरुद्ध वारेन्ट जारी गरेको हो ।

प्रतिक्रिया