‘आफ्नो समुदायको हकहितका लागि नेवारहरु एक हुनैपर्छ’: श्रममन्त्री श्रेष्ठ
अखबार टुडे
प्रकाशित:
२०७८, २२ फाल्गुन

काठमाडौं, २२ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेवार समुदायको हकहितका लागि राजनीति गर्न नहुने बताएका छन् ।
नेवाः देय दवु भानु नगर समन्वय समितिको शनिबार भानु नगरपालिका–९ बाइसजाँगरमा आयोजित दोस्रो अधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘नेवार समुदाय कोही नेपाली कांग्रेसमा, कोही नेकपा (एमाले)मा, कोही नेकपा (माओवादी केन्द्र)मा, कोही नेकपा (एकीकृत समाजवादी)मा आवद्ध छन् । आफ्नो समुदायको हकहितका लागि नेवारहरु एक हुनैपर्छ ।’

श्रम मन्त्रालय निकै अप्ठ्यारो मन्त्रालय भएको चर्चा गर्दै उनले त्यहाँ भएका विकृति र विसङ्गति अन्त्य गर्ने अभियानमा लागिपरेको बताए । ‘जनताको भरोसालाई टुट्न नदिने गरी काम गर्नेछु । मलाई यो गाउँबाट भोट आयो कि आएन भनेर हेरेको छैन, कसैलाई काखापाखा गरेको छैन, विकासमा सबैलाई समेट्ने प्रयास गरेको छु ।’

यस्तै, श्रेष्ठले वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अगाडि मलेसिया गई गएको फागुन १७ गते उतै मृत्यु भएका तनहुँको व्यास नगरपालिका–११ फराकचौरका ४२ वर्षीय प्रकाश अधिकारीको शव स्वदेश ल्याउन चासो व्यक्त गरेका छन् ।

महाशिवरात्रिका दिन काम सकेर कोठामा पुगेका उनको हृदयघातबाट मृत्यु भएको बताइएको छ । शनिबार मृतकको घरमै पुगेर उनले परिवारलाई सान्त्वना दिनुका साथै शव ल्याउने विषयमा पहल सुरु भइसकेको जानकारी दिए । उनले भने, ‘राहत र क्षतिपूर्तिका लागि सकेसम्म छिटो व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

श्रम स्वीकृति गरेर विदेश गएको र विदेशमा मृत्यु भएको खण्डमा मन्त्रालयमातहतको वैदेशिक रोजगार बोर्डले घरसम्मै शव ल्याउने व्यवस्था गरिदिन्छ । यसका साथै क्षतिपूर्तिवापत रु सात लाख राहत दिने प्रावधान छ ।

प्रतिक्रिया