काठमाडौं, २२ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसको सभापति पदमा बराबर मत ल्याएपछि दुवै उम्मेदवारले दुई–दुई वर्ष सभापति बन्ने सहमति गरेका छन् ।
कांग्रेस नवलपुरका जिल्ला सभापति महेन्द्रध्वज जिसीका अनुसार जगत कार्की पहिलो दुई वर्ष तथा सूर्य गुरुङ पछिल्लो दुई वर्ष सभापति बन्ने सहमति भएको हो ।
कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तीन महिनाअघि भएको क्षेत्रीय सभापतिको निर्वाचनमा दुवै उम्मेदवारले बराबर मत ल्याएका थिए । मत बराबरी भएपछि गोलाप्रथा गर्न उम्मेदवारहरू राजी नहुँदा नवलपुर–२ मा कांग्रेस सभापतिको टुङ्गो लाग्न सकेको थिएन ।
मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार गुरुङ र कार्कीले समान ३९४ मत प्राप्त गरेका थिए । मत बराबर भएपछि गोला प्रथा गर्ने वा पुनः मतदान गर्ने वा पुनः मतगणना गर्ने वा बदर मतको आधारलाई कुन मान्ने भन्ने विषय टुङ्गोमा पुग्न सकेको थिएन । दुवै पक्षबीचको छलफलपछि दुइ–दुई वर्ष कार्यकाल विभाजन गर्ने सहमति भएको जिसीले जानकारी दिए ।