पल शाह प्रकरण: संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, २० फाल्गुन

काठमाडौं, २० फागुन । राष्ट्रिय मानव अधिकार आयोगले बलात्कारको आरोप लागेका अभिनेता पल शाह प्रकरणमा संयमित भई अनुसन्धान प्रक्रियालाई सघाउन आग्रह गरेको छ ।

प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा आरोपका पक्ष र विपक्षमा भैरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्तिहरुप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

आयोगका सहायक–प्रवक्ता लोकनाथ वास्तोलाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा आयोगले विभिन्न माध्यमबाट अनुगमन तथा सूचना संकलन गरिरहेको छ । गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ ।’

जबर्जस्ती करणीको अभियोग लागेका शाह न्यायिक हिरासतमा छन् । उनीमाथि जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपरासीमा छुट्टाछुट्टै मुद्दा दर्ता भएको छ भने तनहुँमा प्रहरी अनुसन्धान जारी छ । शाहको मुद्दामा जनमत पनि विभाजित छ ।

प्रतिक्रिया