पेट्रोल लिटरको १५० मा बेच्दा पनि निगमलाई अझै १६ रुपैयाँ घाटा
अखबार टुडे
प्रकाशित:
२०७८, २० फाल्गुन

काठमाडौं, २० फागुन । नेपाल आयल निगमले हिजो बिहीवार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ५/५ रुपैयाँ बढाएको छ ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोल तथा डिजेलको यो मूल्य इतिहासकै उच्च हो । योसँगै, पेट्रोल प्रतिलिटर १ सय ५०, डिजेल १ सय ३३ र मट्टीतेल १ सय ३३ रुपैयाँ पर्नेछ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले मार्च १ मा पठाएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

तर सरकारले इन्धनमा लगाएको कर घटाएर राहत दिन भने कुनै चासो दिखाएको छैन । आईओसीबाट ९३ रुपैयाँ ७६ पैसामा खरिद गरेको पेट्रोलमा ५९.४८ रुपैयाँ, ९४ रुपैयाँ १२ पैसामा खरिद भएको डिजेलमा ४२.१६ रुपैयाँ, यस्तै ८८.८३ रुपैयाँमा किनिएको मट्टीतेलमा १३.३६ रुपैयाँ र १६४१.२३ रुपैयाँमा खरिद गरेको ग्यासमा २८०.३० रुपैयाँ कर लाग्ने गरेको छ ।

त्यसबाहेक निगमको खर्च, ढुवानी भाडा, पेट्रोलियम विक्रेता खर्च/मुनाफासहित जोडेर बिक्री मूल्य तय हुन्छ । तर निगम इन्धनमा अझै घाटा रहेको जनाएको छ । पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ २८ पैसा र डिजेलमा ११ रुपैयाँ ७८ पैसा घाटा हुने गरेको निगमको दाबी छ । मट्टीतेलमा भने निगमलाई प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा नाफा छ ।

रुस र युक्रेनको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अस्वाभाविक रूपमा बढिरहेको छ । मूल्य समायोजनपश्चात् अब निगमको १५ दिनको नोक्सानी २ अर्ब ५० करोड हुने अनुमान छ ।

यसैबीच, निगमको सञ्चालक समितिको बैठकले कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोसाक संरक्षण भत्ता कटौती गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै निगमका स्थायी कर्मचारीले पोसाक संरक्षण भत्ता पाउने छैनन् । पोसाक संरक्षण खर्च कटौती भएपछि वार्षिक झन्डै ५० लाख रुपैयाँ खर्च घट्ने निगमले जनाएको छ ।

यस्तै निगमले बिक्रेता कमिसन पनि अहिलेलाई स्थगित गर्ने निर्णय गरेको छ । यसबाट पेट्रोलियम पदार्थको मूल्य बढे पनि बिक्रेताले कमिसन बापतको अतिरिक्त मूल्य पाउने छैनन् । यही फागुन ७ गतेको मूल्यमा आधारित कमिसन मात्र बिक्रेताले प्राप्त गर्ने निगमले जनाएको छ ।

प्रतिक्रिया