युरोपकै ठूलो परमाणु केन्द्रमा रुसी हमला : युक्रेनका राष्ट्रपतिद्वारा तत्काल कदम चाल्न विश्वलाई आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, २० फाल्गुन

काठमाडौं, २० फागुन । रुसले युरोपकै ठूलो परमाणु प्लान्टमा हमला गरेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बलले युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्टमा हमला गरेको जानकारी दिएका हुन् ।

उनले संसारभरीका देशसँग मद्दतको अपिल गरेका छन् । ट्वीटरमा एउटा भिडियो पोस्ट गर्दै जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्ट खतरामा भएको बताएका छन् ।

जेलेन्स्कीले रुसी बलले जानीजानी परमाणु पावर प्लान्टलाई निशाना बनाइरहेको बताएका छन् । सन् १९८६ मा चेर्नोबिल परमाणु दुर्घटनालाई उद्धृत गर्दै उनले जेपोरजियाको ६ रियाक्टरमा कुनै दुर्घटना भए यसको नतिजा भयानक हुने बताएका छन् ।

जेलेन्स्कीले भनेका छन्, ‘युरोपका जनता कृपया जागा हुनुहोस् । तपाईंहरु आफ्ना नेतालाई रुसी बल युक्रेनको परमाणु प्लान्टमा हमला गरिरहेका छन् भनेर भनिदिनुहोस् ।’

युरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र रुसी फौजको आक्रमणमा परेपछि युक्रेनी राष्ट्रपतिले ‘तत्काल कदम चाल्न’ विश्वलाई आग्रह गरिरहेका छन् । ‘युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्र अहिले जलिरहेको छ’ राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ट्विटरमा राखेको भिडिओमा भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘युरोपेलीहरू जाग्नुहोस्। आफ्ना राजनीतिज्ञहरूलाई भन्नुहोस् कि रुसी फौजले युक्रेनस्थित ऊर्जा केन्द्रमाथि गोली चलाइरहेका छन् ।’

जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, ब्रिटेन, युरोपेली संघ, जर्मनी र पोल्यान्डका नेताहरूका साथै अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीसँग पनि आफू सम्पर्कमा रहेको बताएका छन् ।

यसैबीच युक्रेनको जापोरिज्या क्षेत्रीय प्रशासनका प्रमुखले जापोरिज्या परमाणु ऊर्जा केन्द्रको सुरक्षा ‘सुनिश्चित’ गरिएको बताएका छन् । बिबिसीका अनुसार आफूले ऊर्जा केन्द्रका निर्देशकसँग कुरा गरेको भन्दै एलेक्सान्डर स्त्रारुखले सुरक्षा सुनिश्चित गरिएको कुरामा आफूलाई आश्वस्त पारिएको फेसबुकमा लेखेका छन् ।

उनले भनेका छन्, ‘जेडएनपीपीका निर्देशकले परमाणु सुरक्षा सुनिश्चित गरिएको कुरामा मलाई आश्वस्त पारेका छन् ।’ तर, स्थानीय अधिकारीहरूले भने रुसी आक्रमणका कारण परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको बताएका छन् । एजेन्सी

प्रतिक्रिया