काठमाडौं, १९ फागुन (एजेन्सी) । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई असैनिकृत गरिदिने र तटस्थ बनाइदिने आफ्नो उद्देश्य सफलतापूर्वक सम्पन्न हुने बताएका छन् ।
आफ्ना फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको टेलिफोन कुराकानीमा सो कुरा बताउदै युक्रेनद्वारा वार्तामा गरिने ढिलाइले केवल रुसका मागहरू बढ्दै जाने पुटिनले बताएको बिबिसीले उल्लेख गरेको छ ।
साथै पुटिनले बुधवार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो विमति जनाएका थिए । सो सम्बोधनमा माक्रोँले युद्ध सुरु गर्न केवल पुटिनमात्र जिम्मेवार रहेको बताएका थिए ।
यसैबीच, युक्रेनी तथा रुसी प्रतिनिधिमण्डलबीच बेलारुसमा बिहीवार नै दोस्रो चरणको शान्तिवार्ता हुने भएको छ । एकजना युक्रेनी वार्ताकार डाभिड अराखमियाले सामाजिक सञ्जालमा युक्रेनको न्यूनतम उद्देश्य गैरसैनिकहरूलाई द्वन्द्वग्रस्त क्षेत्रबाट बाहिरिन दिन मानवीय बाटो खुला गराउनु हुने बताएका छन् ।