षडयन्त्र नगर्न ओलीलाई माधव नेपालको आग्रह
अखबार टुडे
प्रकाशित:
२०७८, १७ फाल्गुन

काठमाडौं, १७ फागुन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न षडयन्त्र गरिएको दावी गरेका छन् । उनले उक्त षडयन्त्रलाई चुड्कीको भरमा समाप्त पारिदिएको उनले बताए ।

मंगलबार संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो दावी गरेका हुन् । अध्यक्ष नेपालले भने, ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने षड्यष्न्त्रहरु एकै मिनेटमा चुड्की बजाएर समाप्त पारिएको छ ।’

फागुन १ गते माधवकुमार नेपालसहित १४ सांसदको मुद्दा पेशीमा चढेको थियो । तर, सत्तारुढ गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग संसदमा दर्ता गरेका थिए । उक्त मुद्दा विचाराधिन छ ।

साथै अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई षड्यन्त्र नगर्न, सकारात्मक सोच्न र गलत बाटोबाट फर्किन समेत आग्रह गरे । भिरबाट लड्ने गोरुलाई रामराम भन्न सकिएपनि काँध थाप्न नसकिने उनको भनाइ थियो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीलाई लिएर अनेक शंका भएपनि व्याख्यात्मक घोषणापछि ढुक्क भएको बताए ।

प्रतिक्रिया