रुसद्वारा खार्किभको केन्द्रमा क्षेप्यास्त्र प्रहार : युक्रेनका राष्ट्रपतिले भने, ‘यो रुसी राष्ट्रपतिको युद्ध अपराध
अखबार टुडे
प्रकाशित:
२०७८, १७ फाल्गुन

काठमाडौं, १७ फागुन । युक्रेनको दोस्रो ठूलो सहर खार्किभको केन्द्रमा रुसले क्षेप्यास्त्र प्रहार गरेको छ ।

युक्रेनको विदेश मन्त्रालयले खार्किभको फ्रीडम स्क्वायरमा भएको एउटा विस्फोटनको भिडिओ ट्विटरमा प्रेषित गर्दै उक्त आक्रमणको निन्दा गरेका छन् । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा दर्जनौँ मानिसको ज्यान जानेगरी गरिएका बमबारीलाई युक्रेनका राष्ट्रपतिले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराध भनेका छन् । उनले रुसलाई बाँकी विश्वबाट अलग्याउन आग्रह गरेका छन् ।

सोमवार रुसले गरेको सन्दिग्ध क्लस्टर बम आक्रमणमा परी तीन बालबालिकासहित नौ गैरसैनिकको ज्यान गएको थियो । खार्किभको केन्द्रमा भएको पछिल्लो क्षेप्यास्त्र हमलाभन्दा अगाडि टिप्पणी गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरसैनिकहरूलाई जानाजान निसानामा पारिएको प्रत्यक्षदर्शीहरूले बताएको जनाएका थिए ।

‘त्यो स्पष्ट रूपमा युद्ध अपराध हो। शान्त सहर, शान्त आवासीय क्षेत्र । कुनै सैन्य संरचना थिएन । दर्जनौँ प्रत्यक्षदर्शीहरूले दिएका विवरणले त्यसलाई गल्तीले गरिएको आक्रमण नभई जानीजानी गैरसैनिकलाई निसानामा पारिएको प्रमाणित गर्छ । रुसीहरूलाई उनीहरूले कहाँ आक्रमण गरिरहेका छन् भन्ने राम्रोसँग थाहा थियो’ उनले भनेका छन् ।

यसैबीच अन्तर्राष्ट्रिय फौजदारी अदालतका मुख्य अभियोजनकर्ता करिम खानले रुसी अतिक्रमणबारे अनुसन्धान थालेका छन् । यसअघि उनले रुसले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्ध अपराध गरेको ठहर्ने ‘यथोचित आधार’ रहेको आफूलाई विश्वास भएको बताएका थिए । बिबिसी

प्रतिक्रिया