युक्रेनको राजधानी घेर्न ६४ किमि लामो बख्तरबन्द गाडीसहित रुसी सेना अघि बढ्दै
अखबार टुडे
प्रकाशित:
२०७८, १७ फाल्गुन

काठमाडौं, १७ फागुन (एजेन्सी) । रुसले ठूलो मात्रामा हातहतियारसहित आफ्ना बख्तरबन्द गाडीहरु युक्रेनको राजाधानी किएभतर्फ पठाएको छ ।
स्याटेलाइटबाट प्राप्त नयाँ तस्बिरहरूमा सयौँ हतियारयुक्त ट्यांक, टोज आर्टिलरी, लोजिस्टिक्स सपोर्ट भेइकल्स दक्षिणतर्फबाट युक्रेनको राजधानी किएभतर्फ जाँदै गरेको देखिएको छ ।

स्याटेलाइटबाट तस्बिर लिएको फर्म मेक्सार टेक्नोलोजीका अनुसार ६४.३७ किलोमिटर लामो ट्यांकहरूको लाइन रहेको जनाइएको छ । लाइन अहिले किभको बाहिरतर्फ एन्टोभ विमानस्थलनजिक पुग्न लागेको छ । त्यो क्षेत्र पछिल्ला केही दिनयता रुसी कब्जामा छ । रुसले आफ्नो स्थल सैनिक र लडाकु हेलिकप्टर बेलारुसको दक्षिणी क्षेत्रमा तैनाथ गरेको पनि नयाँ तस्बिरमा देखिएको बीबीसीले जनाएको छ ।

यसैबीच, रुसको आक्रमणबाट युक्रेनको उत्तर–पूर्वी सहर ओख्तिर्कामा ७० युक्रेनी सैनिकको ज्यान गएको छ । रुसी तोपले युक्रेनका सेनाको एउटा युनिट नै ध्वस्त पारेको बीबीसीले जनाएको छ । उद्दारकर्ता तथा स्वयम्सेवकहरुले भग्नावशेषबाट शव निकाल्ने प्रयास गरिरहेका छन् । ज्यान गुमाएका ७० सैनिकको अन्त्येष्टिका लागि चिहान बनाउने तयारी भइरहेको स्थानीय अधिकारीलाई उदृत गर्दै खबरमा उल्लेख गरिएको छ ।

रुसले आज पनि युक्रेनमा आक्रमणलाई निरन्तरता दिएको छ । रुसी सेनाले युक्रेनी नागरिकलाई समेत निसाना बनाइरहेका युक्रेनी सेनाले जनाएको छ । युक्रेनेको दोस्रो प्रमुख सहर खारकिभमाथि पनि रुसले भारी हमला गरेपछि बालबालिकासहित दर्जनौँ मानिसको मृत्यु भएको युक्रेनियन अधिकारीले बताएका छन् ।

युक्रेन र रुस बार्ता बिनानिष्कर्ष सकिएको छ । सर्वसाधारणहरू तीव्र रूपमा देश छाडेर छिमेकी मुलुकतर्फ भागिरहेका छन् । केही भने रुसी बलको सामना गरिरहेका छन् । रुसमाथि विभिन्न देशले कयौं प्रतिबन्ध लगाउने क्रम जारी छ ।

यसअघि, क्रेमिलनले आफ्नो आणविक क्षमतायुक्त इन्टर–कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल्स र पनडुब्बी तथा लामो रेन्जको बम्बर सबै ‘हाई अलर्ट’मा राखिएको जनाएको थियो । यसले अन्तर्राष्ट्रिय समुदायमा परमाणु युद्ध हुने चिन्ता बढाएको छ ।

प्रतिक्रिया