सत्ता गठबन्धनबाट अलग भएको जनमोर्चाको घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, १६ फाल्गुन

काठमाडौं, १६ फागुन । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो ।

गठबन्धनका चार पार्टीले एमसीसीलाई संसदद्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको बताए । बैठकपछि जनमोर्चाले भने, ‘गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट हाम्रो पार्टी आ कै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ ।’

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी पारित गराउनका लागि सरकारले अपनाएको मतदान प्रक्रियाको पनि घोर विरोध भत्सर्ना गरेको छ । केसीले एमसीसी जस्तो राष्ट्रघाती सम्झौताले राष्ट्रलाई दीर्घकालीन रुपले गम्भीर क्षति पु¥याउने जिकिर गरे । एमसीसीको विरुद्ध सम्पूर्ण नेपाली जनता सडकमा उत्रेको अवस्थामा जलझेल गरेर पारित गरिनु निन्दनीय भएको उनको भनाइ छ । उनले सरकारको यस प्रकारको तानाशाही तथा निरंकुश प्रवृत्तिको घोर विरोध तथा भण्डाफोर गर्ने बताए ।

एमसीसी विरुद्धको संघर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९–२२ गतेसम्म देशव्यापीरुपमा जिल्ला तथा स्थानीय स्तरका विरोध सभाहरु गर्ने तय भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया