बनेपामा भेटिएको शङ्कास्पद वस्तु निष्क्रिय पारियो, एक व्यक्ति पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७८, १६ फाल्गुन

काठमाडौं, १६ फागुन । काभ्रेको बनेपा बजार नजिकै आज (सोमबार) बिहानै भेटिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ ।

आज गरिएको नेपाल बन्दको क्रममा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै यातायात सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले सो शङ्कास्पद वस्तु राखेको व्यक्ति पक्राउ गरिसकेको बताए । अनुसन्धानको क्रममा शङ्कास्पद बस्तु राखेर भागेको व्यक्ति महाभारत गाउँपालिका–६ स्थित लामाटोल बस्ने युगान्त थिङ र अर्का विवेक थिङलाई पक्राउ गरिएको छ ।

बिहान राजमार्गमा शङ्कास्पद वस्तु राखेर भागेको अवस्थामा सिसिटिभिको फुटेजको सहायताले उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०२–०२७ प ८७७४ नं को मोटरसाइकलसहित नियन्त्रणमा लिएको प्रहरी प्रमुख जोशीले बताए ।

प्रतिक्रिया