युक्रेन-रुस युद्ध : पश्चिमा प्रतिबन्धको व्यापक असर, मस्कोले ग्यास आपूर्ति बन्द गर्न सक्ने ईयूको डर
अखबार टुडे
प्रकाशित:
२०७८, १६ फाल्गुन

काठमाडौं, १६ फागुन । रुसले युक्रेनमाथि तीन दिनयता लगातार आक्रमण जारी राखेको छ । यसैबेला रुसविरुद्ध पश्चिमा देशहरूले लगाएका कडा प्रतिबन्धहरूको असर देखिन थालेको छ ।

अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा करिब ३० प्रतिशतले गिरावट आएको छ । युरोको मूल्यमा एक प्रतिशतले गिरावट आएको छ भने तेलको मूल्यमा पनि वृद्धि भएको बिबिसीले समाचारमा जनाएको छ ।

रुसमा एटीएमबाहिर मानिसहरूको ठूल्ठूला लाइन देखिएका छन् । नगद झिक्न सरकारले सीमा तोक्न सक्ने मानिसहरूमा डर छ । युरोपमा रुसी स्वामित्वका बैंकहरूले काम गर्न बन्द गरिसकेका छन् । रुसको केन्द्रीय बैंकमाथि लगाइएको प्रतिबन्धका कारण करिब ६३० अर्ब डलर विदेशी मुद्रा सञ्चितिलाई उसले प्रयोग गर्न पाउँदैन ।

मस्कोले ग्यास आपूर्ति बन्द गर्न सक्ने ईयूको डर

ऊर्जाका लागि रुसमाथि युरोपेली संघ ईयूको ठूलो निर्भरता छ । त्यसबाट मस्कोले पनि टन्न आम्दानी गर्छ र यी कुरालाई अहिलेको संकटबाट अलग राख्न सकिन्न ।

युक्रेनमाथि रुसी अतिक्रमणपछि ब्रसल्सले क्रेम्लिनलक्षित एकपछि अर्को प्रतिबन्ध लगाएको छ । सप्ताहान्ततिर ईयूका नेताहरूले रुसी केन्द्रीय बैंक र आफ्नो हवाई क्षेत्रमा रुसी विमानको उडानमाथि प्रतिबन्ध लगाउनुका साथै अस्त्र किन्ने र युक्रेनलाई पठाउने निर्णय गरेका छन् ।

ईयूले अहिलेसम्म ऊर्जा आपूर्ति चाहिँ रोकेको छैन । युरोपमा ऊर्जाको मूल्यमा व्यापक वृद्धि भएको छ भने आपूर्ति कम हुनासाथ महँगीले आकाश छुन सक्ने कुरा भ्लादिमिर पुटिनलाई पनि थाहा छ । ब्रसेल्सलाई अहिले के छ भने मस्कोले ऊर्जा आपूर्ति घटाएर वा रोकेर जबाफी कदम चाल्न सक्छ । (बिबिसी)

प्रतिक्रिया