काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) ले गरेको निर्णयसँगै संसदमा टेबल भएको एमसिसी पारित हुने दिशामा गएको छ ।
आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसिसी संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।
एमसिसीका कारण सत्तारूढ गठबन्धन टुट्ने अवस्था बनेपछि दलहरूले अन्तर्राष्ट्रिय प्रचलनमा रहेको ‘इन्टरप्रेटिभ डिक्लेरेसन’ (व्याख्यात्मक घोषणा) मार्फत् एमसिसीमा उठेका चासो सम्बोधन गर्ने बाटो खोजेका हुन् ।
माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूबीच शनिबार पनि एमसिसीबारे छलफल भएको थियो । यी दुई पार्टीका दोस्रो तहका नेताहरूले नै व्याख्यात्मक टिप्पणीसहितको प्रस्ताव पारित गर्न पार्टी नेतृत्वलाई सकारात्मक बनाएका हुन् ।
यो निर्णयमा चार नेताले नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएका माओवादी स्रोतले जनाएको छ ।