देश बचाउन रुसी सेनासँग लड्दै युक्रेनी सेना र नागरिक
अखबार टुडे
प्रकाशित:
२०७८, १५ फाल्गुन

काठमाडौं, १५ फागुन । रुसी सेनासँग लड्न युक्रेनले आफ्ना जनतालाई हतियार बाँडेको छ । रुसले तीन दिनयता युक्रेनमा रक्तपातपूर्ण आक्रमण गरिरहेको छ । युक्रेनी सेना र जनता आफ्नो देश बचाउन रुसी सेनासँग लडिरहेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार रुसी सेनाको आक्रमणबाट हालसम्म युक्रेनमा २ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका जनाएका छन् ।

युक्रेन सरकारले रुसी सेनाको सामना गर्न सम्भव भएसम्मका सबै उपाय अपनाउन आह्वान गर्दै आएको छ । युक्रेनमा सबै युवालाई सैनिक तालिम अनिवार्य छ ।

रुसी सेना युक्रेनमा आक्रमण गरेको दोस्रो दिनमै राजधानी किभनजिकै पुगेका थिए । अहिले राजधानी किभमा भिषण संघर्ष जारी छ । राजधानी किभमा मेयरले कर्फ्यु जारी गरेका छन् ।

रुसी सेनाले युक्रेनका दोनेत्स्क, लुहान्स्क, मरिउपोल, खार्किभसहित राजधानी किभ नजिकका अधिकांश क्षेत्र कब्जामा लिइसकेको बीबीसीले जनाएको छ ।

रुसी सवमान खसालियो

यसैबीच युक्रेनी सेनाले रुसी सेना चढेको एउटा सैन्य विमान राजधानी किभ नजिकै खसालिदिएको दाबी गरेको छ । रुसी प्याराट्रुप्स सवार विमानलाई किभबाट ४० किलोमिटर दक्षिणमा रहेको सहर भासीलकिभनजिकै खसालिदिएको युक्रेनी सेनाले दाबी गरेको छ । यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ । रुसी सेनाले यसबारे कुनै टिप्पणी गरेको छैन् ।

विमानबाट प्यारासुटमार्फत सेनालाई झार्ने खोजीरहेका बेला रुसी आइएल–७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिवार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा जनाएको छ ।

विमान निर्माता कम्पनीका अनुसार आइएल–७६ एमडीले १६७ जना सैनिक र बढीमा ७ जनासम्म चालक दलका सदस्य बोक्ने क्षमता राख्छ ।
युक्रेनका सैन्य कमान्डरले आफ्नो फेसबुक पेजमा रुसी सैन्य विमान खसालेको संकेत गर्र्दै सन् २०१४ मा रुसले युक्रेनी विमान खसालेको घटनाको स्मरण गरेका छन् ।

प्रतिक्रिया