रुस-युक्रेन युद्ध : अहिलेसम्म १९८ युक्रेनीको मृत्यु, युद्ध मैदानमा राष्ट्रपति
अखबार टुडे
प्रकाशित:
२०७८, १४ फाल्गुन

किभ, १४ फागुन (एजेन्सी) । युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका छन् । मारिएकामध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिए ।

तस्बिर एजेन्सी

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जानकारी दिएअनुसार मृतकको संख्या अझ धेरै हुन सक्ने सम्भावना रहेको छ । पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा अरु एक हजार ११५ जनाको मृत्यु पनि भएको अधिकारीहरूले जनाएका छन् । घाइते भएका बालबालिकाको सङ्ख्या भने ३३ रहेको छ ।

देश जोगाउनका लागि अहिले सुरक्षाकर्मी, स्वयंसेवक र आम नागरिक पनि हतियारसहित भिडन्तमा उत्रिएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई अमेरिकाले उद्धार गर्ने खवर पठाए पनि उनले अस्वीकार गर्नु भएको छ । अमेरिकी सञ्चारमाध्यमहरूले नै युक्रेनबाट उनलाई उद्धार गर्ने अमेरिकाको प्रस्तावलाई उहाँले अस्वीकार गरेको जनाएका छन् ।

तस्बिर एजेन्सी

अमेरिका अधिकारीहरूलाई उनले जवाफ दिएका छन्, ‘यहाँ लडाइँ भइरहेको छ, मलाई हतियार चाहिएको छ, म यही रहेर देश बचाउने छु, मलाई कतै जानु छैन । म जनतासँगै रहेर शत्रुका विरुद्धमा लड्नेछु ।’

विगतमा हास्यव्यंग्यकार तथा अभिनेता समेत रहेका उनकोे यस जवाफका बारेमा सामाजिक सञ्जालमा व्यापक प्रशंसा भइरहेको छ । जबसम्म शत्रुले आक्रमण गरिरहने छन्, तबसम्म त्यसको सामना आफुले गरिरहने अठोटसहित उनले आफू युद्ध मैदानमै उत्रिएको देखिने एउटा भिडिओ पनि सामाजिक सञ्जालमा राखेका छन् ।

प्रतिक्रिया