श्रीलङ्कामा उर्जा सङ्कट थप खराब अवस्थामा, इन्धनको मूल्य १२ प्रतिशतसम्म वृद्धि
अखबार टुडे
प्रकाशित:
२०७८, १४ फाल्गुन

कोलम्बो, १४ फागुन (एजेन्सी) । श्रीलङ्कामा उर्जा सङ्कट थप खराब अवस्थाम पुगेको भन्दै यहाँको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले शनिबार इन्धन मूल्य १२ प्रतिशतसम्म वृद्धि गरेको छ ।

बजारको एक तिहाइ हिस्सा रहेको इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले दिएको जानकारी अनुसार सार्वजनिक यातायातले प्रयोग गर्ने डीजलको मूल्य १२ प्रतिशत र पेट्रोल ११ प्रतिशतले बढिरहेको छ । यो वृद्धि तीन हप्ताअघि सात प्रतिशत मूल्य वृद्धिपछि भएको हो र यसले यस पहिले नै उच्च अवस्थामा पुगेको मुद्रास्फीतिको बढ्दो दबाबलाई थप्नेछ ।

कोभिड–१९ महामारीको कारण प्रमुख विदेशी मुद्रा कमाउने पर्यटन क्षेत्र सङ्कटग्रस्त बनेपछि यो द्वीप आर्थिक सङ्कटको चपेटामा परेको छ । सरकारले विदेशी मुद्रा बचाउने प्रयासमा मार्च २०२० मा व्यापक आयात प्रतिबन्ध लगाएको थियो । अहिले मुलुकमा इन्धन, विद्युत्, सवारी साधनको पार्ट्स र सिमेन्टलगायतको व्यापक अभाव भइरहेको छ । सुपरमार्केटहरूमा चामल, चिनी र दूधपाउडर लगायतका आधारभूत खाद्य पदार्थको अभाब भएको देखिएको छ ।

यस अभावले गर्दा गत महिना खाद्यन्न मुद्रास्फीति २५ प्रतिशत पुगेको र समग्र मुद्रास्फीति १६.८ प्रतिशत पुगेको छ । राज्यद्वारा सञ्चालित सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले तत्काल ऊर्जा मूल्य संशोधन गरेको थिएन, तर यसका अधिकांश पम्पहरूमा धेरै दिनदेखि इन्धनको अभाव थियो ।

ऊर्जा मन्त्री उदय गमन्पिलाले यस हप्ता ‘केही दिनमा’ इन्धनको अभाव कम हुने आशा गरेको घोषणा गर्नुभएको थियो, तर सीपीसीको घाटालाई नियन्त्रण गर्न तीव्र मूल्य वृद्धि आवश्यक रहेको चेतावनी दिनुभएको थियो । सीपीसीले नगद सञ्चार अभावको सामना गरेको र ३.५ अरब अमेरिकी डलरभन्दा बढी ऋण बोक्दै गरेको मन्त्री गमन्पिलाले बताएको छ ।

गत वर्षको लागि सीपीसीको नोक्सान ४५ करोड अमेरिकी डलर भएको उहाँले जानकारी गराए । उनले भने, ‘यस पहिले हामीलाई तेल आयात गर्न डलर कम थियो । अब हामीसँग डलर खरिद्का लागि पैसा छैन ।’

प्रतिक्रिया