संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ, एमसिसी पास फेल गराउने कसरी ?: अध्यक्ष ओली
अखबार टुडे
प्रकाशित:
२०७८, १४ फाल्गुन

काठमाडौं, १४ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश र जनताको हितभन्दा बाहिर नजाने बताउँदै आफ्नोपार्टी संसदीय प्रक्रियामा नै नरहेकाले (एमसिसी) पास गर्ने अवस्थामा नरहेको बताएका छन् ।

प्रगतिशील पेसागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले भने, ‘हामी संसद्को प्रक्रियामा सहभागी हुन पाएका छैनौँ । संसद् सहभागी हुन नपाएपछि हामीले राय कहाँ व्यक्त गर्ने । संसद्मा नै हामीले सहभागी नगराएपछि एमसिसी पास गर्ने कसरी र फेल गराउने कसरी ?’ ।

अध्यक्ष ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताए । उनले नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उल्लेख गरे ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतले स्वच्छेचारी निर्णय गर्दै जाँदा न्यायपालिकामा विकृति आउनेसमेत बताए । ‘सर्वोच्च अदालत विकृत भयो भने देश, समाज के हुन्छ । हाम्रो विधि कहाँ पुग्छ ?’, उनले प्रश्न गरे । उनले एमाले नेपालको न्याय क्षेत्र स्वच्छ, पवित्र र निष्पक्ष ढङ्गले संविधानबमोजिम हुनुपर्ने मान्यता राखेको बताए ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई लगाइएको महाअभियोग पारित गर्न नल्याएको स्पष्ट पनि पारेका छन् । सबै क्षेत्रमा न्याय र समानतासहितको समृद्ध नेपाल हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया