रुसले प्रयोग गर्‍यो भिटो पावर, राजधानी किभमा भीषण युद्ध सुरु
अखबार टुडे
प्रकाशित:
२०७८, १४ फाल्गुन

काठमाडौं, १४ फागुन (एजेन्सी) । युक्रेनमा रुसी आक्रमणको निन्दा गर्दै तयार भएको संयुक्त राष्ट्रसंघीय संकल्प प्रस्ताव विफल भएको छ ।

रुसी आक्रमणको गम्भीर निन्दा गरिएको संकल्प प्रस्तावको पक्षमा सुरक्षा परिषदका १५ मध्ये ११ देशले मतदान गरेका थिए । तर रुसले भिटो प्रयोग गरेर प्रस्ताव विफल पारेको हो।

राष्ट्रसंघका लागि रुसी राजदूतले रुसले युक्रेन वा युक्रेनका नागरिकविरुद्ध युद्ध नगरेको तर डोनबासका जनतालाई बचाउनका लागि यस्तो कदम चालेको बताए ।

रुससहित अमेरिका, बेलायत, फ्रान्स र चीन सुरक्षा परिषदका स्थायी सदस्य हुन् र उनीहरुमाथि भिटो शक्ति छ । रुसले आफ्नो निन्दा गरिएको प्रस्ताव विफल पार्नका लागि भिटो प्रयोग गरेको हो । प्रस्तावमाथि मतदान हुँदा भारत, चीन र युएई अनुपस्थित रहेका हुन् । उनीहरु युक्रेनमाथि भइरहेको रुसी आक्रमणमा रुसको पक्षमा देखिएका छन् ।

यसैबीच, युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार राजधानी किभमा भीषण युद्ध सुरु भएको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज तेस्रो दिन रुसी सैनिक किभ प्रवेश गरेको हुन् ।

युक्रेनको राजधानी किभ प्रशासनले भनेको छ ‘हाम्रो मुख्य सडकका सहरहरुमा अहिले युद्ध सुरु भइसकेको छ ।’ प्रशासनले नागरिकलाई चेतावनी जारी गर्दै घरभित्रै बस्न र झ्यालबाट बाहिर नहेर्न भनेको छ । किभमा रुसी सैनिक शहरको उत्तरी इलाका ओबोलोनबाट प्रवेश गरेका थिए । यो क्षेत्र देशको संसद र शहरको केन्द्रीय क्षेत्रबाट केवल ९ किलोमिटर टाढा छ ।

युक्रेनको सेनाले पश्चिमतर्फबाट एक मुख्य बाटोमा भइरहेको आक्रमणलाई विफल पारेको बताएको छ । सेनाका अनुसार दक्षिणमा एक अवाइ अड्डामा युद्ध सुरु भएको छ । रुसले किभमा हवाइ आक्रमण गरिरहेको समाचारमा जनाइएको छ । युक्रेनले सैनिक ल्याइरहेको रुसको एक विमान खसालिदिएको बताएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको भविष्यको फैसला भइरहेको भन्दै जनतालाई मजबुत रहन अपिल गरेका छन् ।

युक्रेनको सेनाले आफ्नो आधिकारिक फेसबुक पेजमा आफूहरुले रुसी सेनाको आक्रमणको जवाफ दिएको र उनीहरुलाई पछाडि धकेलेको बताएको छ । पोस्टमा आक्रमणको सही ठाउँबारे जानकारी भने दिइएको छैन ।

रुसको आक्रमणपछि युक्रेन पनि आफ्नो पूरा क्षमताका साथ जवाफ दिने कोसिस गरिरहेको छ जसका कारण राजधानी किभ र आसपासका क्षेत्रमा भीषण युद्ध भइरहेको छ । बिहीबार रुसी सेनाको आक्रमणपछि पूर्वी, उत्तरी र दक्षिणी इलाकामा भीषण लडाइँ भइरहेको जनाइएको छ ।

आक्रमणका बीच युक्रेन सरकारले किभ सहरका केही मानिसहरुले रुसलाई सहयोग गरिरहेको हुन सक्ने चेतावनी दिएको छ । आक्रमणपछि बिहीबार रातीदेखि नै किभमा मानिसहरु मेट्रो स्टेशनहरुमा शरण लिएर बसेका छन् । हवाइ आक्रमणपछि बाक्लो जनघनत्व भएको पोजनिएक क्षेत्रसहित किभका अण्डरग्राउण्ड मेट्रो स्टेशन मानिसहरुको शरणस्थल बनेका छन् ।

प्रतिक्रिया