नेटोले भन्यो, ‘हाम्रो क्षेत्रभित्रको प्रत्येक इन्चको रक्षा गर्न जे पनि गर्न तयार छौं’
अखबार टुडे
प्रकाशित:
२०७८, १४ फाल्गुन

किभ, १४ फागुन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज केही घण्टामा रुसले राजधानी किभमा कडा आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् । देशको नाममा सम्बोधन गर्दै उनले जनतालाई दृढ रहन आग्रह गरेका छन् ।

राजधानी किभमा भएका हतियार पसलका बन्दुक र अन्य हतियार लगभग सकिएको जनाइएको छ । सर्वसाधरण जनता पनि देश बचाउन ज्यान जोखिममा पार्न तयार छन् । पूर्वी युक्रेनका जनताले यसबारे चिन्ता व्यक्त गरेका छन् । उनीहरुले पश्चिमा राष्ट्रले थप सहयोग गर्नुपर्ने बताएका छन् ।

राजधानीको सुरक्षाका लागि थप सेना पठाइएको युक्रेन सरकारको भनाइ छ । युक्रेनबाट हजारौं मानिस युद्ध र रुसी सेनाबाट जोगिन छिमेकी राष्ट्र पोल्याण्ड, रोमानिया, हंगेरी र स्लोभाकियामा शरण लिन पुगेका छन् ।

रुसविरुद्ध बलियो प्रतिरोध र सुरक्षा सुनिश्चित गर्न आफूले सबै आवश्यक परिनियोजन गर्ने नेटोले बताएको छ । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले ब्रसेल्समा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रुसले युरोपको शान्तिमा खलल पु¥याएको बताएका छन् । उनले नेटोका सहयोगीहरूले आफ्नो उद्धार योजना सुरु गरेको बताए ।

‘हामीले भूमि, समुद्री र हवाई क्षेत्रमा नेटो सेना तैनाथ गरिरहेका छौं । अमेरिका, क्यानडा र युरोपेली सहयोगीहरूले हाम्रो स्थिति बलियो बनाउन र कुनै पनि आपतकालीन प्रतिक्रिया दिन गठबन्धनको पूर्वी भागमा हजारौं थप सेना तैनाथ गरेका छन्,’ जेन्स स्टोल्टनबर्गले भने, ‘हामीसँग ३० भन्दा बढी ठाउँमा १०० भन्दा बढी जेटहरू छन् । भूमध्य सागरसम्म १२० भन्दा बढी जहाज छन् । हामी हरेक सहयोगी र नेटो क्षेत्रभित्रको प्रत्येक इन्चको रक्षा गर्न जे पनि गर्न तयार छौं ।’ बीबीसी

प्रतिक्रिया