युक्रेनमा रहेका नेपालीलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ लाग्न दूतावासको सुझाव
अखबार टुडे
प्रकाशित:
२०७८, १४ फाल्गुन

काठमाडौं, १४ फागुन । युक्रेनमा रहेका नेपालीहरू सुरक्षित रहेको र निरनतर सम्पर्क भइरहेको जर्मनीको बर्लिनस्थित युक्रेनसमेत हेर्दै आएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार हालसम्म १ सय ९३ जना नेपाली सम्पर्कमा रहेको र त्यहाँ दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ । दूतावासले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै त्यता जान आग्रह गरेको छ । युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कनको लागि ती देशतर्फ जान सकिने पनि दूतावासले जनाएको छ । सीमा नाकामा प्रवेश गर्नको लागि राहदानी या यात्रा अनुमतिपत्र आवश्यक परेमा राहदानीको फोटोकपी फोटो दूतावासको ठेगानामा पठाउन पनि आग्रह गरेको छ ।

दूतावासले युक्रेन सरकार र सम्बन्धित कलेज÷विश्वविद्यालय तथा कम्पनीले जारी गरेको निर्देशनको पूर्ण पालना गर्न, सम्भव भएमा सडक तथा रेलमार्गबाट युक्रेनकै पश्चिमतर्फका सुरक्षित ठाउँमा जान, राहदानी, परिचयपत्र, बैंकको कार्डलगायत कागजात आफ्नो साथमा राख्न र साथीभाइ तथा परिवार र नियोगसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरेको छ ।

युक्रेनको पछिल्लो घटनाक्रमबारे नियमित जानकारी राख्न र आवश्यक परेमा नेपाली दूतावासमा सम्पर्क गर्न पनि भनिएको छ । युक्रेनमा रहेका नेपालीको उद्धार गर्न सरकार अहिलेसम्म ठोस निर्णय र कदम चालेको छैन ।

प्रतिक्रिया