राष्ट्रपति पुटिन युक्रेन र नेटोबाट के चाहन्छ ?
अखबार टुडे
प्रकाशित:
२०७८, १३ फाल्गुन

काठमाडौं, १३ फागुन । रूस र युक्रेनको अहिलेको तनावसँग यी दुई मुलुकको इतिहासमात्रै होइन रूस र पश्चिमा राष्ट्रबीचको भूराजनीति पनि जोडिएको छ ।

गत १४ जनवरीमा केही रूसी ह्याकरहरूले युक्रेन सरकारका वेबसाइटहरू ह्याक गरे । लाखौं मानिसले खोल्ने वेबसाइटमा उनीहरूले ‘डराऊ र अझै नराम्रो अवस्थाका लागि तयार भएर बस’ भनेर लेखिदिए । ह्याकरले वेबसाइट नियन्त्रणमा लिएका बेला युक्रेनको तीनतिरबाट झन्डै एक लाख रूसी सेनाले युक्रेनलाई घेरिसकेका थिए । अहिले दुई लाख रूसी सैनिकहरू युद्धमा चाहिने फिल्ड अस्पताललगायत संरचना बनाएर तम्तयार भएर बसेका छन् ।

यही बीचमा युक्रेनको उत्तरमा पर्ने बेलारूसमा रूसका ‘बटालियन ट्याक्टिकल ग्रुप’का सैनिकहरू आएर संयुक्त सैन्य अभ्यास गरेका छन् । रूससँग सीमा जोडिएको बेलारूस उसको ‘दोस्त’ हो । रूसमा जसरी भ्लादमिर पुटिनले शासन गरेका छन्, त्यसैगरी बेलारूसमा एलेक्जेन्डर लुकासेन्कोले तानाशाही शासन चलाइरहेका छन् । २७ वर्षदेखि बेलारूसको शासनमा रहेका लुकासेन्कोले गत वर्ष साउनमा आफूविरूद्ध प्रदर्शन हुँदा पुटिनलाई फोन गरेर सहयोग मागेका थिए ।

बेलारूसजस्तै युक्रेन पनि आफ्नै स्याटेलाइट राज्य बनोस् भन्ने पुटिन चाहन्छन् । सन् १९९१ सम्म युक्रेन त्यस्तै राष्ट्र थियो पनि । सन् १९९१ को अगस्टमा युक्रेन सोभियत युनियनबाट स्वतन्त्र भयो । रूसीहरू बेलारूस र युक्रेनका बासिन्दालाई अर्कै देशका नागरिक ठान्दैनन्, आफ्नै दाजुभाइ र दिदीबहिनीजस्तै हुन् भन्छन् । युक्रेनी राजधानी किएभनै सोभियत युनियनका सबै सहरहरूको जननी हो भन्ने उनीहरूको भनाइ छ ।

डोनेस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदा पुटिनले युक्रेन रूसी इतिहासको महत्वपूर्ण हिस्सा भएको बताएका थिए । किएभको सत्ता आफ्नो नियन्त्रणभन्दा बाहिर गयो भनेचाहिँ रूसीहरूलाई सह्य हुँदैन । सन् २०१४ मा त्यस्तै भएको थियो ।

सन् २०१३ मा तत्कालीन राष्ट्रपति भिक्टोर यानुकोभिचले युरोपियन युनियनसँग पोलिटिकल एसोसिएसन एन्ड फ्री ट्रेड एग्रिमेन्ट गर्न अस्वीकार गरेपछि उनीविरूद्ध प्रदर्शन भएका थिए। पछि उनलाई सत्ताबाट हटाइयो। उनले रूससँग सहयोग मागे । देशका विभिन्न ठाउँमा उनको पक्ष र विपक्षमा प्रदर्शनहरू भए। तीमध्ये क्रिमियामा भएका प्रदर्शनमा प्रदर्शनकारीले रूसी झन्डा बोकेर पुटिन हाम्रो राष्ट्रपति हो भन्दै नारा लगाए। केहीदिनपछि रूसले क्रिमिया अतिक्रमण ग¥यो। पछिल्लो दशकमा कुनै देशले सैनिक शक्तिका भरमा अर्को मुलुकको भूमि आफ्नोमा गाभेको यो पहिलो उदाहरण हो ।

रूसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रूसविरोधी भावना बढ्यो । रूस विरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति भए। सन् २०१९ मा हास्यकलाकारसमेत रहेका भोलोदमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमाहरूसँग झनै नजिकियो । पछिल्लो समय युक्रेनले युरोपियन युनियन (इयू) को सदस्यता लिने तयारी गरिरहेको छ । सन् २०२४ सम्म इयूको सदस्यताका लागि आवेदन दिने युक्रेनको तयारी छ ।

युक्रेनले इयूको मात्र होइन उत्तर एटलान्टिक सन्धी संगठन (नेटो)को सदस्यता लिने तयारी गरिरहेको चर्चा पनि भइरहेको छ । युक्रेन पनि नेटोको सदस्य राष्ट्र बने अमेरिकी नेतृत्वको उक्त सैन्य गठबन्धनका सैनिकहरू रूसको नाकैमा आइपुग्छन् । रूस र युक्रेनबीच १२ सय माइल सीमा जोडिएको छ ।

राष्ट्रपति पुटिन कुनै पनि मूल्यमा युक्रेनलाई इयू र नेटोको सदस्य नहोस् भन्ने चाहन्छन् । पुटिनका अनुसार युक्रेन नेटोमा आबद्ध भयो भने उक्त गठबन्धनले क्राइमियामाथि पुनः नियन्त्रण कायम गर्ने प्रयास गर्न सक्छ ।

रुसलाई समर्थन गर्ने तत्कालीन राष्ट्रपति सन् २०१४ को सुरुतिर पदच्युत भएपछि रुसले क्राइमियालाई आफूमा गाभेको थियो । नेटोले युक्रेनमा अस्त्रहरू पठाइरहेको र रुसी विकासलाई रोक्न अमेरिकाले तनाव बढाइरहेको मस्कोको आरोप छ ।

नेटो सन् १९९७ अघिका सीमामा फर्कियोस् भन्ने रुस चाहन्छ । नेटो पूर्वतर्फ नबढ्न नहुने र पूर्वी युरोपमा उसका गतिविधि बन्द हुनुपर्ने पुटिनको माग छ । त्यसको अर्थ पोल्यान्ड तथा इस्टोनिया, लाट्भिआ र लुथिआनियाबाट कम्ब्याट एकाइहरू हटून् अनि पोल्यान्ड र रोमानियाजस्ता देशमा क्षेप्यास्त्र तैनाथ नगरियोस् भन्ने हो । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका विवरणहरूमा आधारित)

प्रतिक्रिया