‘संंसद बैठक बहिष्कार गरेर एमसिसी पास गर्न दिने भनेर गलत प्रचार गरियो’
अखबार टुडे
प्रकाशित:
२०७८, १३ फाल्गुन

काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसदमा पेश भएको एमसीसीबारे मतदान हुँदा पार्टीका सांसदले संसद बैठक बहिष्कार गरेर यथास्थितिमा अनुमोदन गर्न सहयोग पुर्याउने भनेर गलत प्रचारबाजी भइरहेको बताएका छन् ।

उनले भ्रामक प्रचारमा विश्वास नगर्न समेत आग्रह गरेका छन् । नेता श्रेष्ठले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एमसीसीबारे पार्टीले यसअघि गरेको निर्णयमा कुनै परिवर्तन नआएको प्रस्ट पारेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ, एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरुलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने । ‘हामी त्यसैमा कायम छौं ।’

उनले संसदमा एमसीसी पेश गरिसकिएको सन्दर्भमा माओवादी केन्द्रले विफल पार्न विपक्षमा मतदान गर्ने बताएका छन् ।
‘यसबारे मतदान हुँदा हाम्रो पार्टीले संसद बैठक बहिष्कार गर्नेछ र यथास्थितिमा यो प्रस्ताव अनुमोदन गर्न सहयोग पुर्याउनेछ भन्ने प्रचार गलत हो । कसले यो भ्रमात्मक प्रचार अभियान सञ्चार माध्यममार्फत चलाउँदैछ ? सावधान !’ श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया