रुसका विशेष सेनाद्वारा युक्रेनको राजधानी कब्जा गर्ने तयारी, नेटोले सेना नपठाउने
अखबार टुडे
प्रकाशित:
२०७८, १३ फाल्गुन

काठमाडौं, १३ फागुन (एजेन्सी) । रुसका २ हजार विशेष सैन्य बलले युक्रेनको राजधानी किएभ कब्जा गर्ने तयारी गरिरहेको किएभ इन्डिपेन्डेन्ट पत्रिकाले जनाएको छ ।

उक्त समाचारअनुसार उनीहरू हलुका सशस्त्र वाहन तथा हेलिकप्टरहरूमा आएर किएभमा ओर्लन खोज्दैछन् । किएभमा ओर्लन बेलारुस र रुसको हवाईक्षेत्रमा ए–५० विमानमार्फत गरिनेछ । बेलारुसबाट हेलिकप्टर वा हलुका विमान आउनेछ ।

युक्रेनका रुसका ध्वंसकारी समूहहरूले बिजुलीका तार र सबस्टेसनहरू ध्वस्त पार्ने योजना छ । उनीहरूले शहरको बिजुली र सञ्चारसेवा काटेर जनतालाई तर्साउन खोजेका छन् । जनतामा त्रास फैलाउन केही अराजक समूहहरूले आगजनी र लुटपाट गरिरहेका छन् । युक्रेनको प्रहरी बलले सार्वजनिक सुरक्षामा ध्यान दिएर ध्वंसकारी र जासूसहरूलाई खोज्न नसक्ने बनाउन खोजिएको छ । त्यसबाहेक युक्रेनका सरकारी कार्यालय र महत्पूर्ण स्थलहरूमा विशाल साइबर आक्रमण गर्ने योजना बनाइरहेको उक्त पत्रिकाले जनाएको छ ।

नेटोले युक्रेनमा सेना नपठाउने
उत्तर एटलान्टिक सन्धी संगठन, (नेटो)ले युक्रेनभित्र सेना नपठाउने नेटोका महासचिवले बिहीबार जानकारी दिएको छ ।
उनले दिएको जानकारीअनुसार नेटोले आफ्ना सेनाहरु स्वतन्त्रताको खोजी गरिरहेका युक्रेनका पूर्वी भूभागका दुई सहरमा पठाउन सक्ने तर युक्रेनभित्र नै सेना नपठाउने निर्णय गरेको हो ।

बिहीबार बसेको नेटोको आपतकालीन बैठकमा सो निर्णय भएको नेटोका महासचिव जेन्स स्टोल्टबर्गले जानकारी दिएका हुन् । उनले यस विषयमा छलफल भएको र अहिले नै नेटोले युक्रेनमा रहनेगरी सेना नपठाउने विषयमा निर्णय भएको जानकारी दिएको समाचारमा जनाइएको छ ।

साथै सो बैठकले रुसलाई युक्रेनमाथिको आक्रमण तुरुन्त रोक्न र रुसी सेना फिर्ता गर्न पनि आग्रह गरेको छ । सो बैठकपछि भनिएको छ– हामीले रुसलाई युक्रेनमाथिको सैन्य हमला तत्कालै रोक्न भनेका छौँ र यसरी सैनिक आक्रमणबाट नभएर कूटनीतिक माध्यमबाट यसको समाधानका लागि तयार हुन हामीले भनेका छौँ ।

रुसमा युक्रेन हमलाविरुद्ध प्रदर्शनमा १७ सय जना पक्राउ
युक्रेनमा रुसले गरेको आक्रमणपछि रुसका धेरै सहरमा युद्धको विरोधमा भएको प्रदर्शनमा हालसम्म १ हजार ७ सय जना पक्राउ परेका छन् ।

विपक्षी ¥यालीहरूमा गिरफ्तारी ट्र्याक गर्ने ओभीडी इन्फो समूहले मस्कोमा ९ सय जना र सेन्ट पिटर्सबर्गमा ४ सय जनालाई पक्राउ गरिएको बताइएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो र तस्बिरहरूमा हजारौं मानिसहरू ‘युद्धलाई नाई भन्नुहास’ भन्ने प्लेकार्ड बोकेर सडकमा निस्किएका देखिन्छ । केही प्लेकार्डमा सरकारको निर्णयको आलोचना पनि भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनमाथि आक्रमण गर्ने निर्णयको विरोध गर्न मस्कोको पुस्किन स्क्वायरमा हजारौं मानिस मानिस जम्मा भएका थिए। त्यस्तै सेन्ट पीटर्सबर्गमा पनि करिव १ हजार मानिस जम्मा भएका थिए ।

रुसी सेनाद्वारा युक्रेनको एक टापु कब्जा
रुसी जलसेनाले आक्रमण गरेपछि ब्ल्याक सीमा पर्ने एउटा टापुमाथि आफूले नियन्त्रण गुमाएको युक्रेनले जनाएको छ ।
युद्धपोतबाट रुसी पक्षले आत्मसमर्पण गर्न भनेपछि स्नेक आइल्यान्डमा रहेका सीमा सुरक्षा गार्डहरूले सानो स्तरमा र अवज्ञाकारी सन्देशमार्फत् प्रतिवाद गरेको युक्रेनी आन्तरिक मामिला मन्त्रालयले जनाएको बिबिसीले उल्लेख गरेको छ ।

‘हामीलाई प्राप्त जानकारी अनुसार स्नेक आइल्याण्ड कब्जामा लिइएको छ’, सीमा सुरक्षा बलले बिहीबार जानकारी दिएको छ । ओडेसा प्रशासनिक क्षेत्रअन्तर्गत पर्ने उक्त टापूमा तैनाथ युक्रेनका सैनिकसँगको सम्पर्क टुटेको पनि बलले जानकारी गराएको छ । आइल्याण्ड कब्जाको समाचारमा १३ जना युक्रेनी बोर्डर गार्ड मारिएको पश्चिमी समाचार माध्यमले जनाएका छन् ।

युक्रेनको पूर्वी सीमामा पनि लडाइँ चर्किरहेको छ । सुमी नगरमा रातभरि भीषण भिडन्त भएको छ । स्थानीय अधिकारीहरूका अनुसार कोनोटोप सहरलाई घेरा हालिएको छ र रुसी फौज किएभको पश्चिमतर्फ बढिरहेको छ । युक्रेनी सेनाका अनुसार रुसी सेनाका ६० वटा रणनीतिक डफ्फा युक्रेनभित्र छिरिसकेका छन् । रुसी सेनाका दर्जनौँ ट्यांकका साथै हेलिकप्टर तथा लडाकु विमानहरू ध्वस्त पारिएको युक्रेनी सेनाले दाबी गरेको छ ।

रुस मलाई मार्न चाहेको युक्रेनी राष्ट्रपतिको भनाई
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आफूलाई मार्न चाहेको बताएका छन् । एक भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले भने, ‘उनीहरू (रूस) युक्रेनको टाउकोलाई राजनीतिक रूपमा नष्ट गर्न चाहन्छन् । दुश्मनको पहिलो निशाना म हुँ र दोस्रो नम्बरमा मेरो परिवार छ ।’

राष्ट्रपति जेलेन्स्कीले आफू राजधानी किफको सरकारी घरमा बस्दै आएको र उनको परिवार पनि युक्रेनमा रहेको बताए । उनले यसबारे थप जानकारी दिएका छैनन् । रुसले जेलेन्स्कीलाई अमेरिकी समर्थन प्राप्त राष्ट्रपति भन्छ । पुटिनले जेलेन्स्कीले युक्रेनलाई अमेरिकाको उपनिवेश बनाएको समेत बताएका छन् ।

अमेरिकाद्वारा रुसमा थप प्रतिबन्धको घोषणा
अमेरिकाले रुसमाथि थप प्रतिबन्धहरुको घोषणा गरेको बताइएको छ । यस नयाँ प्रतिबन्धको घोषणा अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेको हो ।

रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा समेत प्रतिबन्ध लगाउने गरी नयाँ नाकाबन्दीको घोषणा गरेका हुन् । रुसले केही महिनाको प्रयासपछि बिहीबार युक्रेनमा हमला गरेको थियो । सैन्य हमलामा परी सयौंको ज्यान गएको बताइएको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा सैन्य आक्रमण गर्न थालेको शुक्रवार दोस्रो दिन हो ।

प्रतिक्रिया