एमसीसी सकस : देउवासँग छुट्टिएलगत्तै प्रचण्डसँग ओलीको भेट
अखबार टुडे
प्रकाशित:
२०७८, १२ फाल्गुन

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदबाट एमसीसी अनुमोदन गर्न सकस परेको छ ।

बिहीबार प्रतिनिधिसभा बैठक स्थगति भएपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । बिहीबार एमसीसी संसदबाट अनुमोदनबारे दलहरुबीच छलफल पूरा नभएको भन्दै प्रतिनिधिसभा बैठक स्थगित गरिएको थियो ।

बैठक स्थगित भएपछि संसद भवन पुगेका एमाले अध्यक्षसँग प्रधानमन्त्री देउवाले एमसीसी अुनमोदनबारे छलफल गरेका थिए । सो छलफलमा एमालेबाट अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल सहभागी छन् ।

प्रधानमन्त्री देउवा र ओलीबीच छलफल

प्रधानमन्त्री देउवासँग छलफललगत्तै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता गरेका छन् । सुरुमा ओली र प्रचण्डबीच एक्लाएक्लै भेट भएको थियो । त्यसपछि दुबै दलका अरु नेताहरुसहित छलफल भएको नेताहरुले बताएका छन् ।

नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसँगै नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्तिबहादुर बस्नेत सहभागी छन् ।

यसैबीच यता चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेताहरुले पनि एमालेका अध्यक्ष ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरेका छन् ।

नेपालमा एमसीसीबारे चर्को बहस भइरहेका बेला सीपीसीका विदेश विभाग प्रमुख सङ ताओले एमाले अध्यक्ष ओली र विदेश विभाग उपप्रमुख चेन झाओले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भिडियो सम्वाद गरेका छन् ।

भिडियो सम्वादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले जनाएको छ ।

प्रतिक्रिया