काठमाडौं, १२ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिरले जेलेन्स्की हतियार चाहने जोकोही आफ्ना नागरिकालाई हतियार उपलब्ध गराइने बताएका छन् ।
युक्रेनी सञ्चारमाध्यमका अनुसार रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेसँगै हतियार चलाउन सक्ने जोकोहीलाई हतियार उपलब्ध गराउने राष्ट्रपतिले निर्णय गरेका हुन् ।
रुससँगको तनाव बढेसँगै केही सातायता युक्रेनले आफ्ना आमनागरिक तथा पूर्वसुरक्षाकर्मीहरुलाई सैन्य तालिमसमेत दिन सुरु गरेको थियो । युक्रेनमाथि रुसले गरेको सैन्य आक्रमणको विश्वभर निन्दा भइरहेको छ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण पनि सुरु गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनएका छन् ।
यसैबीच युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको छ । बिहीबार रुसले विभिन्न स्थानमा क्षेप्यास्त्र प्रहारसहित सैन्य आक्रमण गरेपछि युक्रेनले कूटनीतिक सम्बन्ध तोडेको समाचार संस्था एएफपीले जनाएको छ ।
एएफपीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उद्धृत गर्दै युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको जनाएको छ ।
यसैबीच बिहीबार रुसी आक्रमणमा परी ४० जना युक्रेनियन नागरिकको मृत्यु भएको समाचार छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सल्लाहकारलाई उद्धृत गर्दै समाचार संस्था एपीले अहिलेसम्म ४० जनाको मृत्यु भएको बताएको उल्लेख गरेको छ ।
राष्ट्रपतिका ती सल्लाहकारले मारिनेहरू सैनिक मात्र हुन् कि सर्वसाधारण पनि हुन् भन्ने खुलाएका छैनन् । रूसी आक्रमणबाट दर्जनौं मानिसहरू घाइते भएको उनले बताएका छन् ।