काठमाडौं, १२ फागुन । एमसिसीको विरोधमा आज(बिहीबार) पनि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले एमसिसी लागू गर्न नहुने भन्दै विभिन्न किसिमका नारा लगाइरहेका छन् ।
प्रदर्शनमा सत्तारुढ दलका नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठन र नेकपा समाजवादीका जनवर्गीय संगठनबाहेक विप्लव समूह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरूले पनि बानेश्वर क्षेत्रमा प्रदर्शनमा सहभागी रहेको जनाइएको छ । राजावादी पार्टी राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ ।
विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा प्रशासनले सुरक्षा तैनाथी बढाएको छ । प्रदर्शनलाई लक्षित गर्दै संसद् भवनदेखि बानेश्वरसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको छ । बानेश्वर खण्डको सडकमा यातायात आवागमन बन्द गरिएको छ । सुरक्षाकर्मीले ठाउँठाउँमा काँडे तार लगाएका छन् ।