
काठमाडौं, १२ फागुन (एजेन्सी) । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार युक्रेन विरुद्ध रुसले सैन्य कारबाही शुरु गरेपछि देशमा मार्शल लको घोषणा गरेका छन् ।
गृह मन्त्रालयका अनुसार राजधानीमा रहेको सैन्य डिपो र एयरफिल्डमा मिसाइल प्रहार भएको छ । कीभमा बोरिस्पिल अन्तरराष्ट्रिय विमानस्थल र शहरका अन्य ठाउँहरूमा विस्फोटको आवाज सुनिएको सञ्चार माध्यमले जनाएका छन् ।
पूर्वी युक्रेनमा आफ्ना सेनाविरुद्ध भीषण गोलाबारी गरेको युक्रेनको सैन्य बलले जनाएको छ । युक्रेनको हवाई बलले रुसी हवाई हमलाको सामना गरिरहेको युक्रेनको सैन्य बलले जनाएको छ । नागरिक विमानका लागि भने देशको हवाई क्षेत्र बन्द गरिएको छ ।
युक्रेनले रुसका पाँच विमान र हेलिकप्टर खसालेको दाबी
युक्रेनी सेनाले बिहीबार देशको पूर्वमा विद्रोही नियन्त्रित एन्क्लेभ नजिक पाँचवटा रुसी विमान र एउटा हेलिकप्टर खसालेको दावी गरेको छ ।
‘संयुक्त सेना कमाण्डका अनुसार आज फेब्रुअरी २४ गते संयुक्त सेनाको अपरेशनको क्षेत्रमा आक्रमणकारीका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिएको छ,’ सेनाका जनरल स्टाफले भने ।
ईयूद्वारा रुसी रक्षामन्त्री र सेनापतिसहितका अधिकारीमाथि प्रतिबन्ध
युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री र सेनापतिसहितका अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । ईयूले रक्षामन्त्री सर्गेई शोइगुसहित रुसको जल, स्थल र वायु सेनाका प्रमुखको सम्पत्ति रोक्का गरेको छ भने भिसामाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
त्यस्तै, ईयूले रुसको सरकारी टेलिभिजन आरटीका प्रधान–सम्पादकको सम्पत्ति रोक्का गर्दै भिसामाथि प्रतिबन्ध लगाएको छ । पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि पश्चिमी मुलुकले रुसमाथि प्रतिबन्ध थप कडाइ गरेका छन् ।
ईयूसहित पश्चिमी मुलुकको क्रेमलिनको प्रोपागाण्डामा संलग्न भएको भन्दै आरटीकी मार्गारिटा सिमोन्यान, रुसी विदेशमन्त्रीकी प्रवक्ता मारिया जाखारोभा र क्रेमलिनको पक्षमा लेख्दै आएका भ्लादिमिर सोलोभ्यभ र पिटर टोल्सटोयमाथि पनि प्रतिबन्ध लगाएका छन् ।
युक्रेनमा संकटकालको घोषणा
सरकारले बिहीबार युक्रेनमा संकटकालको घोषणा गरिएको छ । युक्रेनको सरकारले आजै मध्यरातिदेखि लागू हुनेगरी भनी देशभरका लागि संकटकालको घोषणा गरेको हो । यो संकटकाल ३० दिनका लागि घोषणा गरिएको छ ।
बुधबारको संसद बैठकले सो संकटकाल पास गरेको हो । सो संसदमा कायम रहेका ४५० जना सांसदहरुमध्ये ३३५ जनाले सरकारले ल्याएको संकटकालको पक्षमा मतदान गरेका थिए ।
रूस र युक्रेनको तनावले कच्चा तेलको मूल्यमा वृद्धिको प्रक्षेपण
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको हो ।
दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने अनुमान गरिएको थियो । प्राकृतिक ग्यासको सबैभन्दा ठूलो उत्पादक रुस साउदी अरेबियापछि विश्वको दोस्रो ठूलो तेल निर्यात गर्ने मुलुक हो ।
युक्रेन र रुसबीच जारी संकटको दूरगामी असर पर्ने विज्ञहरू बताउँछन् । रुसमाथि कुनै पनि प्रतिबन्धले विश्वमा कच्चा तेल र प्राकृतिक ग्यासको आपूर्तिमा कमी आउने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा असर पर्ने उनीहरूले बताएका छन् ।
