काठमाडौं, १२ फागुन । नाबालिग एक गायिका माथि यौन शोषण गरेको जाहेरी परेपछि अभिनेता पल शाहलाई प्रहरीले खोजी सुरु गरेको छ । अभिेनता शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ‘जबरजस्ती करणी’को उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले भने सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् ।
अभिनेता शाहले आफूमाथि नियोजित रुपमा षडयन्त्र भएको बताएका छन् । उनले दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंले आफूलाई फसाउन षडयन्त्र गरेको आरोप लगाएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु । सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गाली गलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईंहरू सामु म माथि गरिएको षडयन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केही दिन अगाडी प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप म माथि लगाइएको छ, ती सबै नियोजित र षडयन्त्र पूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ ।’
उनले आफूमाथि षडयन्त्रको भएको प्रमाणस्वरूप केही अडियो प्रमाणहरू पनि सार्वजनिक गरेका छन् । ‘सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठीक भएको छ तपाईंहरू भगवान्रुपी दर्शक, मिडियाकर्मी साथीहरूले औंलाईदिनुहोला । यदि म दोषी भए नेपालको कानुन बमोजिम सजाय भोग्न तयार छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
ती गायिकालाई प्रयोग गरेर दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईले नियोजित ढंगले षड्यन्त्र गर्ने पलको दाबी छ । स्मरणीय के छ भने पल र ती गायिकाबीच केही समय यता ‘प्रेममा रहेको’ चर्चा हुँदै आएको थियो । तर, उनीहरुले आफूहरु ‘मिल्ने साथी’ बताउँदै आएका थिए ।