
काठमाडौं, ११ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको बताएका छन् ।
बुधवार पार्टीको वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा सञ्चारकर्मीसित छोटो कुराकानी गर्ने क्रममा सो कुरा बतएका हुन् ।
अध्यक्ष दाहालले राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने चाहिँ सत्य नभएको स्पष्ट पारे । उनले भने, ‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि । तर अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिँ होइन ।’
अध्यक्ष दाहालले आज बिहान गृह मन्त्री बालकृष्ण खाणसँग खुमलटारमा भेटवार्ता भएको तर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको पनि स्पष्ट पारे ।