विदेशी पर्यटकलाई आन्तरिक उडानको हवाई भाडामा नेपाली सरह छुट दिने सहमति
अखबार टुडे
प्रकाशित:
२०७८, ११ फाल्गुन

काठमाडौं, ११ फागुन । आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ ।
आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुटदिने सम्बन्धमा पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालिबीच सहमति गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले गत माघ २ गते पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको थियो । यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल सङ्घ नेपालले विदेशी पर्यटकलाई होटलको कोठा भाडामा कम्तीमा पनि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेको समितिले जनाएको छ ।

विदेशबाट आउने नागरिकलाई हवाई भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एअरलाइन्सबीच हवाई भाडामा छुट दिने सहमति भएको समितिका संयोजक राजाराम गिरीले बताए । उनले भने, ‘विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिक सरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुई हवाई कम्पनीले सहमति गरेका छन्, अन्य हवाई कम्पनीसँग पनि छलफल बढाएका छौँ, उहाँहरुले पनि छुट दिनुहुने छ ।’

यसैगरी समितिले हाल कोभिड सङ्क्रमण घट्दो क्रममा रहेकाले नेपाल सरकार मन्त्रिपरिषद्बाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ परिमार्जन गरी यात्रासम्बन्धी मापदण्डलाई थप सरलीकरण गर्न कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गरिएको जनाएको छ ।

समितिले भविष्यमा देशैभरिबाट पर्यटन क्षेत्रका सरोकारवालासँग वृहत अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्ने र प्राप्त सुझावलाई समावेश गरी पर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने योजना बनाएको जनाएको छ ।

प्रतिक्रिया