युक्रेनको विश्वास– ‘रुससँग द्वन्द्व हुने छैन’
अखबार टुडे
प्रकाशित:
२०७८, ११ फाल्गुन

कभि, ११ फागुन (एजेन्सी) । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन् । उनले मंगलबार भनेका छन्, ‘मलाई लाग्छ रुससँग त्यत्रो द्वन्द्व हुनेछैन, अहिले हामीले सोचेजस्तो हिंसा पनि हुनेछैन ।’

उता युक्रेनमा यदि आन्दोलन या त्यस्तै आक्रामक केही कारबाही हुने अवस्था भयो भने आफूले मार्सल ल लगाउने पनि उनले जनाए । त्यहाँ हुनसक्ने विद्रोहका बारेमा टिप्पणी गर्दै यदि त्यस्तो अवस्था आयो भने आफूले मार्सल ल लगाउने उनले बताएका हुन् ।

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी रुपमा व्यापक विरोध भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ । तर रुसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ । अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले भने रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् ।

अमेरिकाद्धारा रुसमाथी प्रतिवन्धको घोषणा
युक्रेनमाथी हस्तक्षेप गरेको भन्दै अमेरिकाले रुसलाई प्रतिवन्ध लगाइएको घोषणा गरेको छ । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकाले रुसको भूमिकाप्रति आपत्ति जनाएको छ ।

कुनै देशको आक्रमणलाई रोक्न वा अन्तर्राष्ट्रिय कानुन उलङ्घन गरेको विरुद्धमा एउटा देशले अर्को देशलाई प्रतिवन्ध लगाउने प्रचलन रहेको छ । यसलाई आक्रमणकारी वा हस्तक्षेपकारी देशलाई दिने सामान्य सजायको रुपमा पनि लिइन्छ । यस्ता प्रतिवन्धले देशको अर्थतन्त्र र राजनीतिलाई बढी असर पर्ने र नेताहरुले हस्तक्षेपकारी कदम थप अगाडि नबढाउने अपेक्षा गरिएको हुन्छ ।

अमेरिकाले गरेको प्रतिवन्धको घोषणाप्रति युरोपेलीसहित अन्य विभिन्न देशहरुले समेत समर्थन जनाउदै आफ्नो देशहरुको तर्फबाट पनि प्रतिवन्ध लगाइएको घोषणा गरेका छन् । रुसले युक्रेनमाथि थप अतिक्रमण गरे अमेरिका र युरोपेली मुलुकहरुले प्रतिबन्धहरू पनि थप गर्दै जाने चेतावनी दिएका छन् ।

उनीहरुले सूचना प्रतिविधिको सञ्जालबाट रुसलाई अलग्याउने, आर्थिक कारोवारको सञ्जालमा नराख्ने, रुसबाट ग्यास तथा इन्धन खरिद नगर्नेलगायतका अभियान पनि ल्याउन सक्ने बताइएको छ । रुसको अर्थतन्त्रमा ग्यास तथा इन्धनको व्यापारको ठूलो भूमिका रहेकाले पश्चिमा तथा अमेरिकी देशहरुले रुसबाट ग्यास तथा इन्धन खरिद नगरेमा रुसको अर्थतन्त्रमा ठूलो झड्का लाग्न सक्छ ।

प्रतिक्रिया