सात महिनामा व्यापार घाटा ३८.४५ प्रतिशतले वृद्धि
अखबार टुडे
प्रकाशित:
२०७८, १० फाल्गुन

काठमाडौं, १० फागुन । भन्सार विभागद्वारा मंगलबार सार्वजनिक तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको छ ।

सात महिनामा रु १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख बराबरको स्वदेशी वस्तुको निर्यात भएको हो । गत आवको सोही अवधिमा नेपालबाट रु ६९ अर्ब ९१ करोड १७ लाख बराबरको सामान निर्यात भएको थियो ।

यस्तै, निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । सात महिनामा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै रु ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाखभन्दा बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा रु आठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो ।

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । सोही अबधिमा रु एघार खर्ब बढीको आयात हुँदा ३८ दशमलव ४५ प्रतिशतले व्यापार घाटा बढेको छ ।

चालु आवको सात महिनामा नेपालको रु १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको रु सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस्तैगरी चालु आवको सात महिनामै नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ । यस अवधिमा रु १२ खर्ब ७९ अर्ब १२ करोड चार लाख बराबरको पुगेको विभागले जनाएको छ । तथ्याङ्कअनुसार गत आबको सोही अवधिमा रु आठ खर्ब ७३ अर्ब ५६ करोड बराबरको वैदेशिक व्यापार भएको थियो ।

सोही अवधिमा नेपालमा १४५ देशबाट रु ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । सात महिनामा नेपालले भारतबाट रु छ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख बढीको आयात भएको छ भने रु एक खर्ब छ अर्ब ३५ करोड ८३ लाख बराबरको निर्यात भएको छ ।

नेपालको भारतसँग मात्रै रु ५ खर्ब ८९ अर्ब ८८ करोड ६० लाख बढीको व्यापार घाटा ब्यहोरेको छ । यस्तै, चीनसँग रु १ खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख बराबरको व्यापार घाटा रहेको छ ।

प्रतिक्रिया