विराटनगर, १० फागुन । सुनसरीको धरान–४ स्थित आपगाछी क्षेत्रको जङ्गलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको छ दिनपछि पहिचान खुलेको छ ।
दुई वटा झोलाभित्र टाउको, हात, खुट्टा र शरीर छुट्टाछट्टै फेला परेको शव झापाको दमक–नगरपालिका–५ का ४३ वर्षीय दिनेश सिग्देल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
दमक नगरपालिका– ५ का वडाध्यक्ष इन्द्र गुरुङका अनुसार सिग्देलले दकम–५ बाट राहदानी बनाएको र इलामको चुलाचुलीबाट नागरिकताको प्रमाणपत्र बनाएको खुलेको छ । प्रहरीले खोजी गरे पनि दमकमा उनलाई चिन्ने मान्छे नभएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।
हत्यामा संलग्न भएको आशंकामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनी दाजुको घरमा गएका र पारिवारिक कारणले हत्या भएको हुनसक्ने आशङ्का गरिएको छ । चाँडै घट्नामा संलग्न व्यक्ति सार्वजनिक गरिने निरीक्षक थापाले जानकारी दिए ।
गएको बुधबार र बिहीबार धरान ४ को आपगाँछी क्षेत्रको जङ्गलमा दुई वटा झोलामा हाट खुट्टा, टाउको र शरीरको टुक्राटुक्रा अवस्थामा शव भेटिएको थियो । शव पहिचानका लागि प्रहरीले स्केच तस्बिर बनाएर सार्वजनिक गरेको थियो । उक्त घटनामा सङ्घीय प्रहरी इकाई र इलाका प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ ।